बाम –लोकतान्त्रिक गठबन्धन ओलीको दादागिरिका विरुद्ध संविधान रक्षाको अभियान हो : शैलेन्द्र घिमिरे

स्याङ्जा । माओवादी केन्द्रका केन्द्रीय सदस्य शैलेन्द्र घिमिरेले बाम –लोकतान्त्रिक गठबन्धन केपी ओलीको दादागिरिका विरुद्ध संविधान रक्षाको अभियान भएको बताएका छन् । ओलीले कम्युनिष्टहरुको दुईतिहाई जनमतलाई छिन्नभिन्न पारेर देशमा कु सासन ल्याउने कुचेष्ठा गरेका कारण संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन गरिएको उनको भनाई थियो । स्याङ्जामा कांग्रस र माओवादी केन्द्रद्धारा संयुक्त रुपमा आयोजित गठबन्धनको चुनावी अभियानलाई सम्बोधन गर्दै घिमिरेले सो कुरा बताएका हुन ।

पाँच वर्ष अगाडी जनताको संमृद्धिको सपना देखेर बामगठबन्धनलाई भोट मागेको घिमिरेले स्मरण गरे ।

‘यो देश विकास हुनेछ, यो देश भष्ट्रचार मुक्त हुने छ, यो देश समृद्धी तिर जानेछ , देशमा कसैको दासत्व मानिने छैन भन्ने विश्वास गरेका थियौं ।’उनले भने– ‘एमालेका नेताहरुको अमहमता र सिंङ र जुरो पलायो । संविधान ,लोकतन्त्र र देशको राष्ट्रियतामाथि धावा बोलियो । एमालेका नेताहरुले कम्युनिष्ट एकताको मर्म र भावनामाथि लात हानेर जनताको विकास र समृद्धिको चाहानलाई लत्याए । संविधान र लोकतन्त्रकोे रक्षाको लागि कांग्रेस कम्युनिष्ट मिल्नुपर्ने अवस्था बन्यो ।’

ओली संसदलाई पटक पटक विगठन गरेर प्राप्त उपलब्धि लत्याउनुका साथै दशको राष्ट्रियतामाथि नै घात गरेको घिमिरेले बताए । ओली र एमालेले गरेको प्रतिगमनका कारण बाम–लोकतान्त्रिक गठबन्धन देशको आवश्यकता बनेको उनको भनाई थियो ।

घिमिरेले भने –‘नेपालमा जबजब बाम–लोकतान्त्रिक मोर्चा बनेको छ तबतब नेपालमा परिर्वतनका ऐजेण्डाहरु स्थापित भएको छ । २००७ साल , ०४७ साल र ०६४ सालमा कांग्रेस र कम्युनिष्ट मिलेर परिर्वतनलाई संस्थागत गरे ।’

एमालेले कांग्रस र कम्युनिष्टबीचको गठबन्धन अपवित्र भनेर भ्रम छर्न खोजेपनि परिर्वतन र लोकतन्त्रको रक्षाका निम्ति गठबन्धन अपरिहार्य भएको उनको भनाई थियो । देशमा कांग्रेस र कम्युनिष्ट मिलेर जनताको समृद्धिको चाहना पुरा गर्ने बताउदै एमालेमा रहेका इमान्दार नेताकार्यकर्तालाई संविधान र लोकतन्त्रको रक्षाको अभियानमा समाहित हुन आग्रह गरे ।

जनताले आफुलाई उम्मेदवारको रुपमा देख्न चाहेको भएपनि आफु महाभारतको युद्धमा सहभागी भएको अभिमन्यु भएको उनले बताए । चुनावी युद्धमा हुमिएका गठबन्धनका साझा उम्मेदवारहरुलाई चुनावी चक्रब्युहबाट पार लगाएर विजय बनाउने गरी अभिमन्युको भुमिका आफुले निर्वाह गर्ने घिमिरेले बताए ।

कमेन्ट गर्नुहोस्