काठमाडौं । नेपाल अपाङ्ग महिला संघले सञ्चारमाध्यममार्फत अपाङ्गता भएका व्यक्तिको हक अधिकार स्थापित गर्न र सूचनामा सबैको पहुँचका लागि नेपाल पत्रकार महासंघलाई ध्यानाकर्षण गराएको छ ।
नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष टीका दाहालले मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका सन्दर्भमा सञ्चामाध्यम मार्फत सबैखाले अपाङ्गता भएका व्यक्तिको सहज पहुँचका लागि आग्रह गरिन् ।
उनले राज्यका निकायहरुका प्रवाह हुने सूचना सबै किसिमका अपाङ्गता भएका व्यक्तिको पहँचमा पुग्न नसकेको बताइन् । सञ्चारमाध्यमले प्रस्तुत गर्ने विषयवस्तुको भाषाशैलीमा समेत अपाङ्ग मैत्री तथा अपाङ्ग प्रति संवेदनशील हुनुपर्नेमा जोड दिइन् ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले समाजमा जनचेतना अभिवृद्धि गर्न सञ्चामाध्यमको महत्वपूर्ण भूमिका रहने बताए । उनले अपाङ्ग तथा महिला बालबालिकाका विषयबस्तुमा सञ्चारमाध्यम संवेदनशीन हुनुपर्ने बताउदै आसन्न निर्वाचनमा महासंघले आफ्नो क्षेत्रबाट पहल गर्ने बताए ।
कार्यक्रममा स्वाभालम्भ जिवन पद्धति केन्द्र (सिआइएल) काठमाडौंका कोषाध्यक्ष टेक बहादुर गुरुङ्गले अपाङ्गता भएका व्यक्तिका विषयवस्तुले सञ्चारमाध्यममा स्थान नपाएको बताए । उनले अपाङ्गता भएका व्यक्तिको सैद्धान्तिक विचारलाई राज्यले आत्मसाथ गर्नुपर्ने बताए ।
कार्यक्रममा सहभागीहरु कृष्ण दाहाल, शोभा विष्ट, मिना पौडेल पत्रकारहरु दुर्गा कार्की, कालिका खड्का लगायतले धारणा राखेका थिए ।
कार्यक्रममा अपांङ्गता भएका व्यक्ति, सरोकारवाला संघसंस्थाका प्रतिनिधि र पत्रकारको सहभागिता रहेको थियो ।