काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्य मोहन जोशीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । २३ दिनदेखि ललितपुरस्थित किष्ट अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था स्थिर रहेको उक्त अस्पतालले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
“हिजोदेखि आजसम्म स्वास्थ्यमा खासै सुधार नभएको र उहाँको स्वास्थ्य स्थिति स्थिर नै रहेको छ । साथै छातीमा निमोनियाको संक्रमण र युरिन इनफेक्सन नियन्त्रणका लागि दिइएको एन्टिबायोटिक्सको कोर्स जारी छ,” अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
चिकित्सकको निगरानीमा राखी सघन उपचार कक्षमा उपचार भइरहेको जनाएको अस्पतालले जोशीको अवस्था स्थिर रहे पनि चिन्ताजनक रहेको बताएको छ ।
डेंगी संक्रमण भएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनलाई निमोनिया र छातीमा पनि समस्या देखिएको छ ।