काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब पनि नेपाली कांग्रेसका कार्यकर्ताहरुले हँसिया हथौडामा भोट हाल्दा हात कपाइँराख्नु ठीक नहुने बताएका छन्।
गोरखा सदरमुकाममा गठबन्धन दलले आयोजना गरेको कार्यकर्ता भेलालाई शनिबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
‘यो खाली गोरखाका लागि मात्रै होइन, नेपालकै राजनीतिक र आर्थिक विकासका लागि पनि गठबन्धन हो। म यहाँबाट निर्वाचित भइसकेपछि के गर्ने भन्ने खाका स्पष्ट भएका छन्,’उनले भने, ‘मैले यहाँ आउँदा निकै खुसी र गर्वको महसुस गरेको छु। राजनीतिक र भावनात्मक सम्बन्ध सुदृढ गर्न केही देखाउनु पर्ने भएको छ।’
उनले अझै पनि केही कांग्रेसीहरुलाई हँसिया हथौडामा भोट हाल्नु पर्ने कुराले चिन्तित बनाएको भन्दै शान्ति सम्झौता सम्झाए।
‘कसरी रुखमा भोट हाल्ने भन्ने एकथरी साथीहरुलाई भएको छ। अर्कोतिर कसरी हँसिया हथौडामा भोट हाल्ने भन्ने भएको छ,’ उनले भने, ‘यस्तो भन्ने साथीहरुले शान्ति सम्झौता, संघीयता र गणतन्त्र बुझेनन्। मैले त्यसबेला गिरिजाबाबुसँग हस्ताक्षर गर्नु भनेको रुखमा भोट हाल्नु हो। उहाँले पनि हँसिया हथौडामा भोट हाल्नु हो।’
उनले इतिहासको पनि सम्मान गर्न गोरखा आएको बताएका छन्। ‘त्यसबेला गिरिजाबाबुलाई पनि माओवादीसँग हात मिलाउने कुरा कम जोखिमपूर्ण थिएनु, उनले भने, ‘विदेशी शक्ति पनि माओवादीसँग गिरिजाले हात नमिलाओस् भन्ने चाहन्थे। तर पनि हामीले शान्ति सम्झौतामार्फत देशलाई यहाँसम्म ल्याएका छौँ।’