पूर्वीय सभ्यतालाई बढवा , ग्रिन इकोनोमीमा जोड दिनेछौँ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले बेवास्ता गरिएको पूर्वीय संस्कृतिलाई बढवा दिने बताएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले आफूहरूले आगामी दिनमा पूर्वीय सभ्यतालाई बढवा दिने बताएका हुन् ।

‘पूर्वीय संस्कृति सभ्यतालाई बेवास्ता गरेका थियौँ । त्यो संस्कृति सभ्यतालाई बढावा दिने काम गर्नेछौँ । सुशासन र कानुनी शासनलाई प्राथमिकता दिनेछौँ । हामी धेरै बोल्दैनौँ, काम गरेर देखाउँछौँ । विपक्षी पार्टी जस्तो हैन । काम गरेर देश र जनता केन्द्र विन्दुमा राख्नछौँ,’उनले भने ।

पूर्विय सभ्यता भनेको धर्म निरपेक्षतामा जोड दिने हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा महतले आफूहरूले ध्यान योगमा जोड दिएको बताए ।

‘हाम्रो क्षमता पहिचान छ । त्यो भएन भने हामी कहाँ रहन्छौँ ? त्यहाँ बस्ने जात जाति धर्म संस्कृति छ । कतिपय अवस्थामा हामीले गरेको नराम्रो पश्चिमाहरूले गरेको राम्रो भन्ने छ । हाम्रो सभ्यता संस्कृति डिस्कभर गर्नुपर्ने छ । गाडी छ, धन छ । मान्छे कति असान्त छ । त्यसका लागि ध्यान योग आवश्यक छ,’उनले भने ।
अर्को प्रसंगमा महतले नेपालको स्वार्थ र आवश्यकता केन्द्रित विदेश नीति बनाइने बताए ।

साथै शिक्षा, स्वास्थलगायत आधारभूत अधिकारबाट कसैलाई बन्चित नगरिने उनको भनाइ छ । उनले नेपाललाई कानुनी राजको रुपमा स्थापित गर्ने बताए ।

‘जनताको अधिकार र युवा विदेशिने अवस्थाबाट हामी उल्टाउँछौँ । व्यापार घाटा कम गर्न पेट्रोलियम पदार्थको आयात घटाउने, ग्रिन इकोनोमीमा जोड दिनेछौँ,’महतले भने ।

उनले कांग्रस काम गर्ने पार्टी भएको भन्दै जनताको पक्षमा काम गर्ने बताए ।

कमेन्ट गर्नुहोस्