काठमाडौं । ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले ओमान अधिराज्यका सुल्तान हाइथम बिन तारिक समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन्।
ओमानको बर्का राजदरबारमा आयोजित औपचारिक कार्यक्रमकाबीच उनले ओहोदाको प्रमाणत्र बुझाएका हुन्।सो अवसरमा राजदूत अर्याललाई सलामी दिइनुको साथै नेपालको राष्ट्रिय गान बजाइएको थियो।
ओहोदाको प्रमाणपत्र बुझाए पश्चात् सुल्तान हाइथम बिन तारिक र राजदूत अर्यालबीच भएको छोटो वार्तालापमा राजदूत अर्यालले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट सुल्तानको व्यक्तिगत सुस्वास्थ्य तथा खुसीका साथै समग्र ओमानी जनताको शान्ति, प्रगति एवम् समृद्धिको शुभकामना सन्देश व्यक्त गरे।
अर्यालले नेपाल र ओमान बीचको उत्कृष्ट द्विपक्षीय सम्बन्धबारे उल्लेख गर्दै आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्धलाई थप फराकिलो र अझ प्रगाढ बनाउने तर्फ आफू लागिपर्ने प्रतिबद्धता जनाए।
सो अवसरमा उनले नेपालको रणनैतिक अवस्थितिको महत्त्वबारे चर्चा गर्दै त्यसले नेपालमा व्यापार, पर्यटन तथा लगानीका लागि प्रचुर सम्भावनालाई थप बढाएको बताए।
सुल्तान हाइथम बिन तारिकले राजदूत अर्याललाई नेपालको राजदूतको रूपमा ओमानमा स्वागत गर्दै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेको ओमानस्थित नेपाली दूतावासले जनाएको छ।