काठमाडौं । कलाकार अमृत कार्कीले भौतिकरुप र मानिसको सोचाइको बीचको अन्तरलाई अनुभूत गर्ने गरी परफर्मेन्स कला प्रस्तुत गरेका छन् । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा उनले इट्टा, बालुवा र सिमेन्टको पर्खालका बीचमा आफूलाई चार घण्टासम्म नचलाइकन उभ्याएर जीवन र जगतको शाश्वत सत्यलाई चिन्ने गरी प्रस्तुत भए । चारघण्टाको बीचमा उनले आफ्नो भौतिक रुपलाई गारो अर्थात् पर्खालका रुपमा उभ्याए ।
बाहिरबाट झट्ट हेर्दा उनी भित्तामा टाँसिएका थिए । अर्थात् उनलाई वरिपरीबाट इट्टाको पर्खाल लगाउँदै लगियो । करिब आधा दर्जन सहयोगीले उनको शरीरको वरिपरी सिमेन्ट, बालुवा र इट्टाको पर्खाल लगाए । उनी नचलीकन सो अवधिमा ठिंग उभिए । पर्खालकै रुपमा भित्तामा उभिएका उनले दर्शकलाई जीवन र जगत आफ्नो ढंगले बुझ्न छोडिदिए ।
कार्कीले भौतिक जगत् र मानिसको चेतनाको अवस्था फरक हुने विषयलाई उधिन्दै विचार पक्षले नै अस्तित्व रक्षा गर्दै चिनाउने भावलाई देखाउन खोजेको आभास कलामार्फत दिएका थिए । वरिपरी जम्मा भएका करिब साढे दुई सयभन्दा बढी दर्शकले उनको कला र मनोविज्ञानलाई भौतिक रुपभन्दा विचार पक्ष बलियो हुने तर्क गरे । कलाकार नवेन्द्र लिम्बूले ‘ब्रिथिङ थ्रो द स्टिलनेस’ थिममा गरिएको उक्त कला प्रस्तुतिलाई सशक्त र कलाको मर्मलाई गहिरो गरी चित्रण गरिएको जिकिर गरे । उनले बृहत हिसावले सोच्दा कार्कीले समसामयिक परिवेशलाई कलामार्फत गहन ढंगले प्रस्तुत गरेको जनाए । उनले भने, ‘यो कलाक्षेत्रमा बृहत् सोचका साथ प्रस्तुत गरिएको कला हो । लामो समयसम्म नचलीकन उभिएर कलाकारले आफूलाई प्रस्तुत गर्नु निकै साहसिक काम हो ।
साथै कलाकारले सामयिक परिवेशलाई निकै सोचविचारका साथ चित्रण गर्दै जतिसुकै बन्धनमा परे पनि मानिसले आफ्नो मुक्ति र स्वतन्त्रता वा भावनालाई उन्मुक्त रुपमा छोडिरहेको हुन्छ भन्ने विषयलाई उधिनेका छन् ।’कलाकार लिम्बूले परफर्मेन्स ९भावनाटिका० मा देखिने निर्धक्कपना कलाकार कार्कीमा देखिएको जनाउँदै काममा सशक्तपना र गुणस्तरीयपन रहेको बताए । उनले थपे, ‘कुनै पनि ढाकिएको छोपिएको चीजभित्र पनि अस्तित्व र मनोभाव उन्मुक्त ढंगले विचरण भइरहन्छ भन्ने सन्देश कार्कीको कला प्रस्तुतिले दिएको छ ।’ उनले बन्धित अवस्थामा पनि उसको निस्वास हेर्न पाउनु वा अनुभूत गर्न पाउनु राम्रो पक्ष रहेको सुनाए ।
कलाकार तथा नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनालले कलाकार आफू चाहिँ एउटा फ्रेममा रहेर कलाकै रुपमा प्रस्तुत हुनु र सामयिक मर्मलाई निकै गहन रुपमा उतार्न सक्नु कार्कीको सबल पक्ष रहेको बताए । उनले भने, ‘कलाकार स्वयं कलाका रुपमा प्रस्तुत हुने कलालाई परफर्मेन्स भनेर बुझ्छौं । यसको मर्मलाई आत्मसात् गर्दै कलाकार कार्कीले आफूलाई निकै सशक्त रुपमा उभ्याएको देखिन्छ ।’ उनले परिस्थिति अनुसार कलाकारले आफूलाई समाल्ने र त्यसको मर्मलाई परिपक्व बनाउन गरेको प्रयत्न निकै आकर्षक रहेको बताए । कलाकार लिम्बूले कार्कीको कलामा तत्काल आउने परिवेशलाई पनि सहज ढंगले समालेको देखिएको जनाउँदै निस्वास मज्जाले खुलेको पाएको बताए । उनले भने, ‘मैले सहरीकरणको उकुसमुकुस, प्रकृति दोहन, संस्कृति अतिक्रमण लगायतका पक्षलाई समेत कलाकारले आफ्नो प्रस्तुतिमार्फत पस्केको आभास पाएँ ।’ कलाकार अमृत कार्कीले भौतिक रुपलाई जति नै बाँधे पनि उसको भावनालाई कैद गर्न नसकिने विषयलाई आफूले कलामार्फत प्रस्तुत गर्न खोजेको सुनाए । उनले मानिसका विचारलाई कसैले रोक्न नसक्ने बताए ।