पोखरा । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नयाँ नयाँ रेकर्ड बनाएका छन् ।
असोज २९ देखि सुरु प्रतियोगिता कात्तिक ३ सम्म आइपुग्दा विभिन्न १० जना खेलाडीले नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सफल भएका हुन्।
आयोजकका अनुसार त्रिभुवन आर्मी क्लबकै ६ जना खेलाडीहरुले पदकसमेत जित्ने क्रममा नयाँ कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भएका हुन्।
त्रिभुवन आर्मीकी सरस्वती चौधरी १०० मिटर महिलातर्फ १२.१३ सेकेन्डको नतिजा निकाल्दै नयाँ रेकर्ड बनाउन सफल भएकी छन्।
त्रिभुवन आर्मीकै दीपक अधिकारीले १० हजार मिटर म्याराथनतर्फ ३० मिनेट १०.३ सेकेन्डको नतिजा निकाल्दै रेकर्ड बनाउन सफल भए।
आर्मीकै जयरानी थारुले पनि ४ सय मिटर महिला हर्डल्सतर्फ १ मिनेट ४.१३ सेकेन्डको नतिजा निकालेर नयाँ कीर्तिमान बनाएकी छन्।
४ सय मिटर पुरुतर्फ आर्मीकै सोमबहादुर कुमाललले ४७.९५ सेकेन्डसहित नयाँ कीर्तिमान आफ्नो नाममा लेखाएका छन्।
लङ जम्प महिलामा आर्मीकी जयरानी थारुले ५.५८ मिटरसहित नयाँ कीर्तिमान बनाइन्। अर्कातिर उनैले १०० मिटर महिला हर्डल्सतर्फ १५.१६ सेकेन्डसहित अर्को कीर्तिमान पनि आफ्नो नाममा लेखाइन्।
एपीएफ क्लबकी रमिताकुमारी थारुले ४०० मिटर महिलातर्फ ५८.१० सेकेन्ड समय निकाल्दै कीर्तिमान बनाएकी छन्।
त्यस्तै एपीएफकै सलिम देवानले लङ जम्प पुरुषतर्फ ७.६ मिटरसहित नयाँ रेकर्ड बनाउन सफल भए।
ज्याभलिन थ्रोतर्फ नेपाल प्रहरी क्लबी चन्द्रकला लाम्गाधेले ४७.०६ मिटर निकाल्दै आफ्नो नाममा राष्ट्रिय कीर्तिमान लेखाइन्।
प्रदेशतर्फ कर्णालीका दुर्गाबहादुर थापा पनि अब्बल निस्किएका छन्। उनले ३०० मिटर स्टीपल चेसमा ८.५५.१९ समय निकाल्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन्।