जनताको सेवा गर्न राजनीतिमा आएको हुंँ : राज्यमन्त्री श्रेष्ठ

चितवन।आउंँदो मंसिर ४ गते हुन गइरहेको संघीय तथा प्रादेशिक निर्वाचनका लागि देशभरका उम्मेदवार भेटघाट र घरदैलो व्यस्त छन् । अहिले सत्तागठबन्धन र अन्य दलहरु चुनावी अभियानमा होमिएका छन् । देशभर चुनावी माहोल तातिएसंँगै चितवनका उम्मेदवार मतदाता भेट्न घरदैलोमा पुगेका छन् ।

चितवन क्षेत्र नम्बर २ का उम्मेदवार उमेश श्रेष्ठ भेटघाट र घरदैलोलगायत चुनावी कार्यक्रममा व्यस्त छन् । चुनाव नजिएकैसँगै सत्ता गठबन्धनको वडा सम्पर्क कार्यालय स्थापना गर्ने क्रम चलिरहेको छ । क्षेत्र नम्बर २ को कालिका नगरपालिका वडा नम्बर ३ मा बिहीबार वडा सम्पर्क कार्यालय उद्घाटन गर्ने क्रममा बोल्दै श्रेष्ठले आफू जनताको सेवा गर्न व्यवसायबाट राजनीतिमा फड्को मारेको बताए ।

आफू शिक्षा, स्वास्थ्य, पर्यटन व्यवसायमा सक्रिय भई आएको र अहिले जनताको सेवा गर्न राजनीतिमा आएको उनले बताए । ‘मैले तीनदशकभन्दा बढी व्यवसाय र सेवामा खर्चिएंँ । अहिले जनताको सेवा गर्न राजनीतिमा आएको छु’ श्रेष्ठले भने । आफूले संविधान बनाउने काम र स्वास्थ्य राज्यमन्त्री भएर कोरोनाको बेला प्रभावकारी काम गरेर देखाइसकेको भन्दै श्रेष्ठले राजनीतिमा पनि अवसर दिएर जिताउन मतदातालाई आग्रह गरे । उनले चितवनमा भूमिहीनको समस्या जटिल रहेको भन्दै आफूले जितेपछि भूमिहीनलाई लालपूर्जा दिन पहल गर्ने बताए

सरकार स्थापनापछि शक्तिखोर औद्योगिक क्षेत्रको स्थापना गरेर आफूले हजारौँलाई रोजगारी दिन सक्रिय रहने समेत उनले बताए । ‘पार्टीले काम गर्न सक्ने भएर नै मलाई तीनपटक अवसर दिएको छ, त्यसैले मेरो अनुभव यहांँको कृषि, उद्योग, रोजगारी, उत्पादन वृद्धिमा लगानी हुनेछ’ उनले भने ।

आफूसंँग विकासका धेरै खाका र योजना रहेको भन्दै उनले गठबन्धनलाई जिताएर बहुमतको सरकार गठनको वातावरण बनाउन मतदातालाई आग्रह गरे ।

कमेन्ट गर्नुहोस्