चीनले विश्वलाई आधुनिकीकरणको नयाँ विकल्प दिन्छ : सी चिनफिङ

बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टीका सर्वोच नेता सी चिनफिङले चीनले सबै हिसाबले आधुनिक समाजवादी देश निर्माण गर्ने नयाँ यात्रा सुरु गरेको बताएका छन् । साथै उनले मानवताका लागि चीनले आधुनिकीकरणको नयाँ विकल्प दिने बताए ।

चिनियाँ कम्युनिष्ट पार्टीको १९औँ केन्द्रीय समितिको तर्फबाट आइतबार २०औँ सीपीसी राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा प्रतिवेदन प्रस्तुत गर्दै सी चिनफिङले आधुनिकीकरणको चिनियाँ मार्ग कस्तो देखिन्छ र यसले कसरी काम गर्छ भन्ने कुराको व्याख्या गरे ।

चिनियाँ आधुनिकीकरण पार्टीको नेतृत्वमा अघि बढेको समाजवादी आधुनिकीकरण भएको बताउदै सीले चीन विश्वको आधुनिकीकरणको नेतृत्व गर्ने ठाउँमा पुगेको बताए । उनले अहिले चीनको बेइजिङमा चलिरहेको २० औं कंग्रेसको महत्वपूर्ण घडीमा चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ आधुनिकीकरणलाई व्यापक रूपमा अगाडि बढाउन महत्वाकांक्षी खाका तयार गरेको बताएका छन् । जुन कार्ययोजना आगामी कार्यसमितिले पुरा गर्नुपर्ने छ । उक्त महत्वकांक्षी कार्ययोजनाको सफलतापछि राष्ट्रिय पुनर्जागरणको अनुभूति हुने सीले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापना भएदेखि नै चिनियाँ जनताले पुस्तौ देखेको देश आधुनिकीकरण गर्ने सपना साकार पार्न आफु तल्लिन रहेको बताए ।

सन् २०२१ मा चीनले सबै हिसाबले मध्यम समृद्ध समाज निर्माण गर्ने ऐतिहासिक कार्य पूरा गरेपछि पछिल्ला दशकमा चीनलाई सर्वाङ्गीण रुपमा आधुनिकीकरण गर्ने नयाँ चरणको सुरुवात गरेको सीले बताए ।

उनले चिनियाँ कम्युनिष्ट पार्टीको २०औं राष्ट्रिय महाधिवेशनको प्रतिवेदनमा चीनको आधुनिकीकरणलाई सबै जनताको साझा समृद्धि, भौतिक प्रचुरता र सांस्कृतिक–नैतिक संवर्धन, मानवता र प्रकृतिबीचको सद्भाव र शान्तिपूर्ण विकासको विशेषताको रुपमा अघि बढाउने बताएका छन् ।

दुई चरणको रणनीतिक योजनामा ​​चीनले सन् २०३५ सम्ममा मूलतः समाजवादी आधुनिकीकरणलाई साकार पार्ने र यस शताब्दीको मध्यसम्ममा समृद्ध, बलियो, प्रजातान्त्रिक, सांस्कृतिक रूपमा उन्नत, सामंजस्यपूर्ण र सुन्दर राष्ट्र निर्माण गर्ने लक्ष्य राखेको छ।

कमेन्ट गर्नुहोस्