परम्परागत थाङ्का कलाकार लक्ष्मण तामाङको निधन

काठमाडौं । परम्परागत थाङ्का कलाकार लक्ष्मण तामाङ (दोङ) को ५० वर्षको उमेरमा निधन भएको छ । बिहीबार बिहान ५.१५ बजे जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा निधन भएका तामाङ विगत साढे तीन दशकदेखि कलाक्षेत्रमा सक्रिय थिए । पेटसम्बन्धी समस्याबाट पीडित उनी लामो समयदेखि उपचाररत् रहेको संघका केन्द्रीय अध्यक्ष पाल्साङ्मो लामाले जानकारी दिए ।

तामाङको बिहीबार नै बौद्धस्थित जम्बुडाँडामा अन्त्येष्टि गरिएको थियो । अखिल नेपाल ललितकला संघ केन्द्रले आयोजना गरेको श्रद्धाञ्जलि सभामा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशले एक होनाहार कला प्रतिभा गुमाएको बताए । उनले तामाङ एक प्रतिभाशाली परम्परागत थाङ्का कलाकार भए पनि राज्यले चिन्न नसकेको भनाइ राखे । ढकालले भने, ‘नेपालको मौलिक पहिचानलाई चिनाउने कला परम्पराको विरासतलाई धान्दै आउनुभएका कलाकारलाई राज्यले उचित सम्मान दिनुपर्छ ।’ सो कार्यक्रममा सुनापाती गाउँपालिका ४ का वडाध्यक्ष डण्डुप लामाले राज्यले एक प्रतिभाशाली कलाकार गुमाएको बताउँदै कलाको सम्मानविना राज्य समृद्ध बन्न नसक्ने विचार व्यक्त गरे ।

उनले लक्ष्मण कलाकारसँगै एक इमान्दार सामाजिक व्यक्तित्वसमेत रहेको बताए । यसैगरी समाजसेवी घमान तामाङले कलाकार लक्ष्मणका बारेमा चर्चा गर्दै कला र समाजसेवामा समर्पित व्यक्तित्व गुमाउन पुगेको धारणा राखे । संघका केन्द्रीय अध्यक्ष पाल्साङ्मो लामाले नेपाली कलाक्षेत्रमा लामो समयदेखि सक्रिय कला व्यक्तित्व गुमाएको बताए । उनले तामाङको असामयिक निधनले कलाक्षेत्रमा अपूरणीय क्षति पुगेको बताउँदै भने, ‘नेपाली कलाक्षेत्रले एक विशिष्ट परम्परागत थाङ्का कलाकार गुमाएको छ ।’ उनले तामाङको योगदानलाई संघले सधैं सम्झिरहने बताए ।

जनसांस्कृतिक महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष देवेन्द्र थुम्केली, महासचिव सुर्वण हमाल, कलाकार नारदमणि हार्तम्छाली, संघका केन्द्रीय उपाध्यक्ष प्रदीप अधिकारी ‘सुशान्त’, अग्रज कलाकार लालमान लामा, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ बुद्धि गुरुङ, भक्तपुर प्रतिनधिसभा निर्वाचन क्षेत्र नं. १ का उम्मेद्वार सुनिल गोठ ‘वासु’, कलाकार चम्पा लामा लगायतले श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

भल्वाडी मैत्रीय सेवा समितिका सचिव निरिमाया मोक्तानले कलाकार तामाङ अल्पायूमा भएको निधनले खबरले सम्पूर्ण भल्वाडीवासी स्तब्ध भएको बताइन् । लक्ष्मणको २०३० साल असार २६ गते बुवा जनकबहादुर तामाङ र आमा काइँली तामाङको कोखबाट रामेछाप, सुनापाती गाउँपालिका ४, बेथान भल्वाडीमा जन्म भएको थियो । उनका दुई छोरा र श्रीमती छन् ।

कमेन्ट गर्नुहोस्