गठबन्धनका लागि सत्ता होइन व्यवस्था महत्वपूर्ण : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनका लागि सत्ता नभइ व्यवस्था महत्वपूर्ण रहेको बताएका छन् ।

शुक्रबार बाम गठबन्धनको तर्फबाट बुटवलमा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले आफूलाई सत्ता महत्वपूर्ण नभइ व्यवस्था महत्वपूर्ण रहेको उल्लेख गरेका हुन् ।

उनले गठबन्धनलाई आगामी निर्वाचनमा नजिताए मुलुक संकटमा पर्ने जिकिर गरे । वरिष्ठ नेता पौडेलले मुलुकमाथि खेलवाड गर्न चाहने शक्तिको विरुद्ध र प्रतिगामी तत्वहरुको विरुद्ध गठबन्धन बनेको उल्लेख गर्दै गठबन्धनले चुना नजिते मुलुक अस्थिरताको भुमरिमा जाने दाबी गरे।

उनले कांग्रेस र कम्युनिष्ट दुई धार नभइ गठबन्धनले जित्ने हो भन्ने सोचेर निर्वाचनमा गठबन्धनलाई जिताउन कार्यकर्तासमक्ष आग्रह गरे । वरिष्ठ नेता पौडेलले ५ दलको गठबन्धनले राष्ट्र जोगाउने, देशमा राजनीति स्थिरता ल्याउने बताए । उनले देशमा सुशासन ल्याउने कबुल गठबन्धनले गरेको बताए । उनले देशलाई सुशासन चाहिएको भन्दै सुशासन कायम नहुँदा जनता निराश बनेको बताए।

उनले अब देशमा सुशासन ल्याउने हिम्मत गठबन्धनले ल्याउने भन्दै परिवर्तनका वाहक गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउनुपर्ने बताए । वरिष्ठ नेता पौडेलले नयाँ नेपाल बनाउने संकल्प लिएर गठबन्धन निर्वाचनमा गएको भन्दै गठबन्धन सामान्य राजनीतिक तालमेल मात्र नभएको जिकिर गरे ।

वरिष्ठ नेता पौडेलले पार्टी भित्रका सानातिना मनमुटावलाई परित्याग गरेर सहकार्य, सहमति र एकताका लागि जुट्न आग्रह गरे ।

कमेन्ट गर्नुहोस्