गठबन्धनको चुनावी अभियान : आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा संयुक्त भेला

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा संयुक्त भेला गर्दै छ। नेकपा माओवादी केन्द्रको समन्वयमा सुदूरपश्चिमको धनगढी र कांग्रेसको समन्वयमा कर्णाली प्रदेशको सुर्खेतमा भेला आयोजना हुने बताइएको छ। सत्ता गठबन्धनले गत शुक्रबार (४ कात्तिक)बाट प्रदेशस्तरीय संयुक्त भेला आयोजना गरिरहेको छ।

आसन्न निर्वाचनलाई लक्षित गरेर संयुक्त रुपमा भेला आयोजना गर्ने निर्णय अनुसार शुक्रबार गण्डकी प्रदेशको पोखरा र लुम्बिनी प्रदेशको बुटवलमा सत्ता गठबन्धनले संयुक्त भेला आयोजना गरेको थियो। धनगढीमा बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरु पुग्ने कार्यक्रम रहेको छ ।

धनगढीस्थित ओम पार्टी प्यालेसमा हुने कार्यक्रममा प्रदेशका ९ वटै जिल्लाका उम्मेदवार, हरेक जिल्ला कार्यसमितिबाट ५ जना, प्रदेशमा रहेका पार्टीका केन्द्रीय सदस्यहरु लगायत कार्यक्रममा सहभागी हुनेछन्। धनगढीको कार्यक्रम सकेर नेताहरू कर्णाली प्रदेशको सुर्खेत जानेछन्। सुर्खेतमा दिउँसो २ बजेबाट भेला सुरु हुने बताइएको छ। वीरेन्द्रनगरको शुभ होटलमा भेला राखिएको छ।

कमेन्ट गर्नुहोस्