निर्वाचन अग्रगमन र पश्चगमनका बीचको संग्राम : अध्यक्ष प्रचण्ड (भिडियो)

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले मंसिर ४ को निर्वाचन पनि अग्रगमन र पश्चगमनका बीचको संघर्ष भएको बताएका छन् । वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई राजधानीमा सम्बोधन गर्दै उनले भने, “परिवर्तन र अग्रगमनका पक्षधर र परिवर्तन र अग्रगमन विरोधीका बीचमा मंसिर ४ गते एउटा ठूलो संग्राम हुँदैछ ।” लोकतन्त्रमा निर्वाचन आउने र जाने प्रक्रिया भएपनि हरेक निर्वाचनमा खास मुद्धा उठ्ने गरेको उनको भनाई थियो । अध्यक्षले अगाडि भने, “प्रत्येक निर्वाचनमा खास राजनीतिक मुद्धामा देश बहसमा केन्द्रित हुन्छ । त्यसकै वरिपरि संघर्ष चलिरहेको हुन्छ । मंसिर ४ को निर्वाचन पनि अग्रगमन र पश्चगमनका बीचको संघर्षका बीचमा हाम्रो अगाडि आउँदैछ । ”

अध्यक्षले संविधान, गणतन्त्र, समावेशी र समानुपातिक गणतन्त्रका पक्षमा वाम लोकतान्त्रिक गठबन्धन खडा भएको उल्लेख गर्दै उनले संविधान तथा गणतन्त्रका पक्षमा उभिने र त्यसलाई स्वीकार नगर्नेकाबीचमा निर्वाचनमा सङ्घर्ष हुने बताए । वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, “दुई वटा विचार, प्रवृत्ति, संस्कृतिका बीचमा आमनेसामने हुँदैछ । संविधानको संरक्षणका साथै सङ्घीयता र समानुपातिक प्रतिनिधित्वका पक्षमा आफूहरुको गठबन्धन रहेको उनको भनाइ थियो ।

याे पनि पढ्नुस  निर्वाचन आयोगविरुद्ध परेका दुई रिटमा आज सुनुवाइ हुँदै

उनले प्रत्येक निर्वाचन कुनै पनि राजनीतिक विषयमा केन्द्रित हुने गरेको तथ्य पेश गर्दै अग्रगमन र परिवर्तनका पक्षमा उभिने कि नउभिने भन्नेबारेमा आगामी निर्वाचन पनि केन्द्रित भएको बताए । उनले भने, “विगतमा संविधान मिच्ने, प्रतिनिधिसभा विघटन गर्ने दुष्प्रयास गरियो । त्यसका विरुद्ध हामी सबै उभियौँ । सङ्घर्षका बीचमा गठबन्धन बनेको हो । सानो मेहनत र सानो कसरतबाट यो गठबन्धन जन्मेको होइन । त्यसकारण यसका उम्मेदवारलाई विजयी गराउनु आजको आवश्यकता हो ।”

याे पनि पढ्नुस  माओवादी नेता प्रचण्ड अस्थिर कि गतिशील ?

शक्ति सन्तुलन हाम्रो पक्षमा नभएको भए देश ठूलो दुर्घटनामा जाने खतरा रहेको उनको भनाइ थियो । नेपालमा शान्ति प्रक्रिया सुरु गरेको र १२ बुँदे समझदारीका सहयात्री हामी एकै ठाउँमा रहेको भन्दै अध्यक्ष प्रचण्डले यो निर्वाचन जित्ने उद्देश्यका लागि मात्रै नभएको बताए । नेपाली जनताले प्राप्त गरेको अधिकारलाई थप स्थापित गर्न र आर्थिक समृद्धिको चाहना पूरा गर्न पनि केन्द्रित रहेको उनको भनाइ थियो । तत्कालीन एमालेको नेतृत्वमा माधवकुमार नेपाल नै भएकाले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र सम्भव भएको जानकारी दिँदै अध्यक्ष प्रचण्डले भने, “परिवर्तन, प्रगति, स्थिरता चाहने शक्ति एक ठाउँमा उभिएको र अर्कोतर्फ निरङ्कुशता र सामान्तवादतर्फ लैजान चाहने शक्ति उभिएका छौँ । यो स्वभाविक र प्राकृतिक छ ।”

याे पनि पढ्नुस  निर्वाचन आचारसंहिता कार्यान्वयनका ४८ दिन, एक सय ४९ उजुरी, एक सय १६ स्पष्टीकरण

विगतदेखिकै स्वाभाविक सहयात्री एक ठाउँमा उभिएको जानकारी दिँदै उनले सानातिना खुद्रा कुरामा अड्किएर राष्ट्रिय हितलाई पर सार्न नमिल्ने बताए । उनले राजनीतिक आन्दोलनसँगै आर्थिक परिवर्तन, क्रान्ति र सुशासन कायम गर्नुपर्ने र जनताको जीवनमा आर्थिक समृद्धिको यात्रा सुरु गर्नुपर्नेमा साझा धारणा रहेको बताए।

‘स्थिरता र समृद्धिका लागि गठबन्धन’ भन्ने मूल नाराका साथ गठबन्धन चुनावी मैदानमा होमिएको तथ्य पेश गर्दै अध्यक्षले आर्थिक विकासलाई गति दिने एक अठोटका साथ जनतामा गयौँ भने नेपाली जनताले पुनःभरोसा प्रदान गर्ने स्पष्ट पारे ।

उनले गठबन्धनले उम्मेदवार बनाएका सबै उम्मेदवारलाई आफ्नै उम्मेदवार ठानेर मतदान गर्न र विजयी गराउन आग्रह पनि गरे । कुनै पनि दुविधा नराखी स्वाभाविक सहयात्री र गठबन्धनका उम्मेदवारलाई विजयी गराउने उद्देश्यका साथ जनताको घरदैलोमा जानसमेत उनले आग्रह गरे ।

कमेन्ट गर्नुहोस्