चिनियाँ राजदूत होउ यान्छी स्वदेश फिर्ता

काठमाडौं । झन्डै चारवर्षे कार्यकाल पूरा गरी चिनियाँ राजदूत होउ यान्छी स्वदेश फर्केकी छिन । उनी मंगलबार बिहान ९ बजे हिमालय एयर बाट काठमाडौं–कुन्मिङ उडानबाट स्वदेश फर्केकी हुन ।

सन् २०१८ डिसेम्बरमा उनी नेपालका लागि राजदूत बनेर आएकी थिइन् । उनी राजदूत बनेर नेपाल आएपछि सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको ऐतिहासिक राजकीय भ्रमण गरेका थिए ।

राजदूत होउ चार वर्षे कार्यकाल पूरा गरी आज स्वदेश फर्केकी हुन् । चीन फर्किनु अघि उनले नेपालका प्रधानमन्त्री, राष्ट्रपति, परराष्ट्रमन्त्री, सभामुख र प्रमुख राजनीतिक दलका नेताहरूसग भेट् गरेकी थिइन् ।

राजदूत होउलाई चीनले बढुवा गरी दक्षिण पूर्व एसियाली राष्ट्रहरूको संगठन एसोसिएसन अफ साउथ इस्ट एसिएन नेसन्स(आसियान) क्षेत्रको राजदूतको रुपमा पठाउन लागेको छ ।

राजदूत होउ फर्केसँगै नयाँ राजदूतमा को आउने भन्नेबारे चीनले निर्णय गरिसकेको छैन ।

चिनियाँ कम्युनिस्ट पार्टीको २० औं महाधिवेशनले आइतबार मात्रै राष्ट्रपति सी चिनफिङलाई तेस्रो पटक महासचिव चयन गरेको र चीनको ७ सदस्यीय नयाँ स्थायी समितिले आन्तरिक र बाह्य नीति तय गर्ने क्रममा त्यसको प्रभाव छिमेकी नेपालमा पनि पर्ने देखिएकोले नेपालमा चीनले नयाँ राजदूत पठाउदा उच्च महत्व दिने सम्भावना छ ।

स्वदेश फिर्ता हुनुअघि राजदूत यान्छीले नेपालमा रहँदा गाँसिएको गहिरो मित्रताको आफूले सधैं कदर गर्ने विश्वास दिलाएकी छिन् ।

उनले सामाजिक सञ्जाल टिवट्टरमा भनेकी छिन् ‘कार्यकाल पूरा गरेर म मैत्रीपूर्ण र सुन्दर छिमेकी नेपाल छाडेर जाँदैछु। सम्पूर्ण नेपाली मित्रहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु, नेपालमा रहँदा जीवनका सबै क्षेत्रका साथीहरूसँग गाँसिएको गहिरो मित्रताको म सधैं कदर गर्नेछु ।’

कमेन्ट गर्नुहोस्