काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ।
आईएमएफले ‘वर्ल्ड इकनोमिक आउटलूकः काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ प्रतिवेदन सार्वजनिक गरी नेपालको आर्थिक वृद्धिदरको शुरूआती अनुमानमा संशोधन गरेको हो। गत जनवरीमा आईएमएफले नेपालको आर्थिक वृद्धिदर ४।१ प्रतिशत रहने प्रक्षेपण गरेको थियो।
आईएमएफले सन् २०२३ मा भने नेपालको आर्थिक वृद्धिदर घट्ने अनुमान गरेको छ। यसअघि गत जनवरीमा गरेको प्रक्षेपण अनुसार, आगामी वर्ष नेपालले ६.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरिएको थियो।
अहिले त्यो प्रक्षेपणलाई घटाएर पाँच प्रतिशतमा सीमित गरिएको छ। सरकारले भने आर्थिक वर्ष २०७९–८० का लागि आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ।
त्यस्तै, आईएमएफले मूल्यवृद्धिको यसअघिको अनुमान पनि संशोधन गरेको छ। मुद्रास्फीति सन् २०२२ मा ६.३ प्रतिशत र सन् २०२३ मा ७.७ प्रतिशत रहने आईएमएफको शुरूआती अनुमान थियो। तर, अहिले त्यसलाई संशोधन गर्दै २०२२ मा ८.१ प्रतिशत र २०२३ मा ७.२ प्रतिशत पुग्ने अनुमान गरिएको छ।
चालू आर्थिक वर्षको बजेट मार्फत सरकारले भने मूल्यवृद्धिलाई सात प्रतिशतको सीमाभित्र राख्ने प्रक्षेपण गरेको छ।
पछिल्लो समय मूल्यवृद्धिका कारण विश्व अर्थतन्त्र नै समस्यामा परेको छ। कोभिड–१९ महामारी र रूस–युक्रेनबीचको युद्धलाई विश्व आर्थिक मन्दीको प्रमुख कारण ठानिएको छ।
आईएमएफका अनुसार, विश्व अर्थतन्त्रको वृद्धिदर सन् २०२१ मा ६ प्रतिशत रहेकोमा सन् २०२२ मा घटेर ३.२ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ। त्यस्तै, २०२३ मा झन् खस्केर २.७ प्रतिशतमा झर्ने अनुमान गरिएको छ। जुन पछिल्लो दुई दशकयताकै सुस्त हो।
विश्व मुद्रास्फीति दर यस वर्ष ८.८ प्रतिशत कायम हुने आईएमएफको अनुमान छ। सन् २०२३ मा भने त्यो घटेर ६.५ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ। –रासस