गठबन्धनको जीत सुनिश्चित : आरजु राणा

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको जीत सुनिश्चित रहेको दाबी गरेकी छन् ।

आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै डा देउवाले गठबन्धनबाट अधिकांश बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका र आ–आफ्ना कार्यकर्ताले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न गठबन्धनमा आबद्ध पार्टीका नेता, स्थानीय तहका कार्यकर्ता तथा आम मतदाताहरू देशव्यापीरुपमा आतुर रहेकाले जीत सुनिश्चित रहेको उनले बताइन् ।

वर्तमान सरकारले छोटै समयमा गरेका राम्रा कामका साथै कांग्रेसजस्तो पुरानो प्रजातान्त्रिक शक्तिको नेतृत्वलाई नै नेपाली जनताले रुचाइएकाले पनि आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनको जीत सुनिश्चित रहेको उनले दाबी गरिन् । कांग्रेसले अहिलेको गठबन्धनको टिमलाई नै लिएर निर्वाचनपछि पनि अघि बढ्ने प्रण गरिसकेकाले यही टिमको भावनालाई बुझेर सबैले गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने उनको आग्रह थियो ।

कमेन्ट गर्नुहोस्