खरेललाई जिताउन ७५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभाका निवर्तमान सदस्य ईन्द्र प्रसाद खरेल (आइपी)लाई निर्वाचन जिताउनका लागि ७ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।

बाँके निर्वाचन क्षेत्र ३ (१) बाट माओवादी केन्द्रको तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका आइपी खरेललाई जिताउन आइतबार बाँकेको बैजनाथमा माओवादी केन्द्रको निर्वाचन क्षेत्र ३ (१)को पार्टी कमिटीको बैठकले उक्त निर्वाचन परिचालन कमिटी गठन गरेको नेता खरेलले जानकारी दिए ।

खरेलका अनुसार, उक्त पार्टी कमिटीका अध्यक्ष र सचिवले पार्टीबाट राजिनामा दिएकाले उपाध्यक्ष कृष्णबहादुर घर्तीको अध्यक्षतामा बैठक बसी घर्तीकै संयोजकत्वमा ७ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको हो । कमिटीको सचिवमा राजमोहन चौधरी, कार्यालय सचिवमा सुदिप लामिछाने रहेका छन् ।

त्यसैगरी, बैठकले अन्य पार्टीहरुसँग वार्तारसम्वाद गर्नका लागि कृष्णबहादुर घर्तीको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको छ । टोलीको सदस्यहरूमा राजमोहन चौधरी, पदम सिंह ठकुरी, आकाश सन्ज्याल र रिमलाल गिरी रहेका छन् ।

बैठकमा माओवादी केन्द्रका केन्द्रिय सदस्य अन्जना चौधरी (अर्पणा), उषा पुन (पार्वती), नरेन्द्र न्यौपाने तथा प्रदेश कमिटीका सदस्य तिर्थराज ज्ञवाली, परमानन्द वर्मालगायतको उपस्थिति रहेको नेता खरेलले जानकारी दिए ।

उक्त निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले आइपी खरेललाई आधिकारिक टिकट दिएर उम्मेदवार बनाएको हो । तर, केहीले भने स्वतन्त्र उम्मेदवार दलबहादुर सुनारलाई पार्टीको उम्मेदवार भनेर चर्चा गरेका थिए । केहि दिनअगाडि मात्रै सुनार माओवादी पार्टी प्रवेश गरिसकेका छन । माओवादीका केन्द्रीय सदस्य तथा बाँके जिल्ला ईन्चार्ज पुर्णाकुमारी सुवेदी र जिल्ला संयोजक डम्बर बिक (तुफान) को उपस्थितिमा सुनार पार्टी प्रवेश गरेका थिए ।

सो क्षेत्रबाट २०७४ को निर्वाचनमा आईपी खरेल बिजयी बनेका थिए । अहिलेको निर्वाचनमा पनि पार्टीले सोही निर्वाचन क्षेत्रबाट टिकट दिएर उम्मेदवार बनाएपछि खरेल निर्वाचनमा होमिएका हुन् ।

कमेन्ट गर्नुहोस्