माओवादी अध्यक्ष प्रचण्डसँग नवनियुक्त अमेरिकी राजदूत थम्पसनको शिष्टाचार भेटवार्ता

ललितपुर । नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर. थम्पसनले पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेका छन् । अध्यक्ष निवास खुमलटारमा आज बिहान भएको भेटवार्तामा वर्षौदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल भएको थियो ।

भेटमा अध्यक्षले नेपालको विकासमा अमेरिका र अमेरिकी जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सह्रानीय भएको बताए । अध्यक्ष प्रचण्डले भने, ‘नेपाल र अमेरिकबीच वर्षौदेखिको मित्रता रहेको छ । तपाईको कार्यकालमा यो सम्बन्ध अझै प्रगाढ रहने मैले विश्वास लिएको छु ।’ भेटका अवसरमा प्रचण्डले आफूहरु मुलुकको आर्थिक समृद्धिको अभियानमा रहेको बताउँदै यसमा अमेरिकाको सहयोग आवश्यक रहेको बताए ।

राजदूत आर. थम्पसनले प्राकृतिक र सांस्कृतिक विविधताले भरिएको सुन्दर मुलुकमा आउँदा खुसी लागेको बताए । उनले नेपालको दिगो र समावेशी आर्थिक विकास लक्ष्य हासिल गर्न आफूहरुको सहयोग निरन्तर रहने विश्वास दिलाए । राजदूतले ७५ वर्षदेखिको नेपाल अमेरिकी सम्बन्ध आफ्नो कार्यकालमा अझै उचाई लिने विश्वास व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्