काठमाडौं । रेडियो भोटेवडारमा कार्यरत पत्रकार चाँदनी अधिकारीको डेंगु संक्रमणका कारण २३ वर्षको अल्पायुमै उपचारको क्रममा निधनप्रति नेपाल पत्रकार महासंघले दुःखद् व्यक्त गर्दै स्तब्ध भएको जनाएको छ ।
डेंगु सक्रमित भई कात्तिक १५ गते लमजुङस्थित मोडल अस्पतालमा उपचाररत अधिकारीलाई थप उपचारका लागि आज बिहान चितवन मेडिकल कलेज (न्यू सिएमसि) पुर्याइएकोमा उपचारकै क्रममा ६ः३० बजे निधन भएको हो ।
लमजुङमा सक्रिय पत्रकारितामा गर्दै आएकी अधिकारीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र उर्जावान युवा पत्रकार गुमाएको महासंघले जनाएको छ ।
नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले एक विज्ञप्ति जारी गर्दै स्वर्गीय अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । महासंघले शोकसन्तप्त परिवारजनमा धैर्यधारणको कामना र समवेदना समेत प्रकट गरेको छ ।