मंसिर ४ गते दुई गठबन्धन आमने सामने हुँदैछ : प्रचण्ड

गोरखा । नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष प्रचण्ड नेपालमा दुई गठबन्धनहरुको आमनेसामने मंसिर ४ गते हुने बताएका छन् । नेपालमा यतिबेला संविधानको रक्षाको गर्ने, विकास र समृद्धिका लागि अघि बढेको गठबन्धन र प्रतिक्रियावादीहरुबीचको गठबन्धनको आमनेसामने मंसिर ४ गते हुने बताए।

गोरखाको रानीटारमा आयोजित गठबन्धन दलहरुको चुनावी जन–भेला तथा कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिले मुलुकमा दुई खाले गठबन्धन रहेको बताए । संविधानको, लोकतन्त्रको, गणतन्त्रको रक्षा गर्नेहरुको गठबन्धन र त्यसलाई उल्टाउन चाहनेहरुको गठबन्धन बनेको अध्यक्ष प्रचण्डले बताए ।
प्रचण्डले भने, ‘महिला, दलित, आदिवासी, जनजाती, मुस्लिम, मधेसीको पहिचान र अधिकारसहित घोषणा गरेको संविधानको रक्षाको पक्षमा हाम्रो गठबन्धन भने अर्को गठबन्धन यो संविधानलाई कुनै न कुनै रुपले विघटन गराउन चाहन्छ । समावेशी, समानुपातिक मान्यतालाई उल्टाउन चाहन्छ । गणतन्त्रप्रति नकारात्मक धारणा राख्छ भने फेरि पनि नेपालमा शामन्ति र निरंकुशतासहितको राजतन्त्र पुनःस्थापना गर्न चाहनेहरुको गठबन्धन बनेको छ ।’ उनले थपे, ‘हाम्रो गठबन्धनमा पाँच दल छौं । अर्को गठबन्धनमा ५/६/७ कहिले बढ्छन्, कहिले घट्छन् ।’

यी दुई वटा गठबन्धन मंसिर ४ गते आमने सामने हुने भन्दै नेपाली जनताले प्राप्त गरेको संवैधानिक अधिकारको रक्षा गर्ने गठबन्धन या जनताको अधिकार खोस्न खोज्ने गठबन्धन कसलाई रोज्ने भन्ने नेपाली जनताको हातमा रहेको उल्लेख गरे ।

उनले नेपाली जनता सचेत भइसकेकाले जनताले अग्रगमनकारीलाई नै मतदान गर्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष प्रचण्डले चितवन र गोरखाको सम्बन्ध गाउँबेशी जस्तो भएको भन्दै गोरखाली पार्टी, यहाँका जनता र गठबन्धनका नेताहरुको समेत चाहना अनुरुप आफूले गोरखाबाट उम्मेदवारी दिएको पनि स्पष्ट पारे । जनक्रान्तिको तयारीमा मुख्य आधार गोरखालाई भएको भन्दै अब हुने विकास समृद्धि अभियानसहितको आर्थिक क्रान्ति पनि गोरखाबाट नै सुरु गर्ने बताए ।

कमेन्ट गर्नुहोस्