निर्वाचन बिथोल्न देशभर २३ वटा समूह सक्रिय रहेको गृह मन्त्रालयको निष्कर्ष

काठमाडौं। गृह मन्त्रालयले मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन बिथोल्नका लागि देशभर २३ वटा समूह सक्रिय रहेको निष्कर्ष निकालेको छ। विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले उक्त जानकारी दिएका हुन्।

गृह प्रवक्ता एवं सुरक्षा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेलले निर्वाचन विरोधी समूहलाई नियन्त्रणमा लिएर उनीहरुका गतिविधि रोक्न तथा निष्तेज पार्न र निर्वाचनलाई मर्यादित, शान्तिपूर्ण, भयरहित, स्वच्छ एवं निष्पक्ष रूपमा सम्पन्न गर्न विशेष सुरक्षा योजना बनाएर लागू गरिएको जानकारी दिए।

सुरक्षाका दृष्टिकोणले मतदानस्थलाई अति संवेदनशील, संवेदनशील र सामान्य भनेर वर्गीकरण गर्दै त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाउने तयारी गरिएको उनको भनाइ छ। निर्वाचनमा खटिने कर्मचारी, उम्मेदवार, मतदाता, निर्वाचन सामग्रीसमेतको सुरक्षालाई सरकारले प्राथमिकतामा राखेको पोखरेल बताउँछन्।

मतदानका दिन ३ घेराको सुरक्षा प्रबन्ध गरिने मन्त्रालयले जनाएको छ। पहिलो घेरामा नेपाल तथा म्यादी प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई परिचालन गरिने छ। निर्वाचन सुरक्षाका लागि म्यादीसहित २ लाख ९८ हजार ५ सय ८९ जना सुरक्षाकर्मी परिचालन गरिने जानकारी मन्त्रालयले दिएको छ।

कमेन्ट गर्नुहोस्