गठबन्धन ओलीको मनपरिका विरुद्ध बनेको हो , दुविधा नराखि पक्षमा भोट गरौं : गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय कार्यसमिति सदस्य तथा केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक गोपामान श्रेष्ठले लोकतान्त्रिक–बाम गठबन्धन नौलो नभएको बताएका छन् । गठबन्धन दलको स्याङ्जा काठमाडौं सम्पकको बैठकलाई संबोधन गर्ने क्रममा ओलीको मनपरिविरुद्ध संविधान र लोकतन्त्रको रक्षाकालागि मूलुकको आवश्यक बनेको बताए । गठबन्धन गरेर ३० बर्षे पन्चायत र १४० बर्षे राजतन्त्रलाई फाल्न सफल भएको बताउदै  अहिलेको गठबन्धन त्यसैको निरन्तरता भएको बताए ।

श्रेष्ठले प्रजातन्त्र ल्याउन राणाविरुद्ध २००७ सालमै बामपन्थीहरुसँग कांग्रेस मिलेर लडेको स्मरण गरे । उनले देशमा राणा , पंचायत र राजाविरुद्धको आन्दोलन र संर्घषमा कांग्रेस कम्युनिष्ट गठबन्धन हुँदै आएको बताउँदै अहिलेको गठबन्धन केपी ओलीको तानाशाही प्रवृतिको विरुद्ध देशको आवश्यकता बन्न पुगेको गठबन्धनका सबै नेता कार्यकर्ताले बुझ्नुपर्ने उल्लेख गरे ।

उनले भने–‘कांग्रेस र सात दलको नेतृत्वमा ज्ञानेन्द्रविरुद्ध आन्दोलनमा सफल नभैसकेपछि गिरिजाबाबुले माओवादीसँग वार्ता गरेर संगै मिलेर जनआन्दोलन गरेका हौं ।’ गाउँमा क्रान्तिकारीहरु शहरमा राजाको आतंकको अवस्था रहिराखेको अवस्थाबाट शान्ति , संविधान र गणतन्त्रको निमित्ति कांग्रेसले माओवादीसँग सहकार्य गरेको उनको भनाई थियो ।

सात दल र माओवादीबीच बृहत शान्ति सम्झौतामा हस्ताक्षर गर्ने मध्ये आफु पनि एक रहेको बताउँदै उनले अहिलेको गठबन्धन त्यसैको निरन्तरता भएको बताए ।

कांग्रेसको नेतृत्वमा बनेको लोकतान्त्रिक संविधान माथि ओलीले तत्कालीन नेकपाका नेताहरुलाई केहि जस्तो नठानेर आफ्नो पार्टीसँगै संविधान र लोकतन्त्रमाथि नै प्रहार गरेको श्रेष्ठको भनाई थियो ।ओलीले जे मनलाग्यो त्यहि गरिहेको कांग्रेसले टुलुटुलु हेरिरहेको अवस्थामा नेकपा पार्टी भित्रै भएको विष्फोटले अहिलेको गठबन्धन बन्न पुगेको नेता श्रेष्ठको भनाई थियो ।

तत्कालिन नेकपाका नेताहरु प्रचण्ड, माधव नेपाल र झलनाथ खनालको आग्रहमा ओलीको परिर्वतन विरोधि प्रवृतिका विरुद्ध कांग्रेसले सत्ताको नेतृत्व गरेर प्रदेश,संघ र स्थानीय तहका सरकारमा समेत गठबन्धन गरेको उनले बताए । संघीय सरकार, प्रदेश सरकारमा गठबन्धन रहेको र राष्ट्रियसभामा गठबन्धनबाटै चुनाव लडेका कारण ओली नेतृत्वमा रहेका सिट कांग्रेसले हासिल गर्न सफल भएको भन्दै श्रेष्ठले गठबन्धनको मर्म र आवश्यकता बुझेर निर्वाचनमा दायाँबाया नगरी गठबन्धनका उम्मेदवारलाई निसंकोच मतदान गर्न आग्रह गरे ।

उनले स्याङ्जाका ६ वटै क्षेत्रमा उठेका लोकबाम गठबन्धनका उम्मेदवारलाई सबैले भोट हाल्नुपर्ने बताए । कांग्रेस प्रजातन्त्र र लोकतन्त्रको निम्ति लडेको दल भएको हुनाले लोकतान्त्रिक -बाम गठबन्धनका उम्मेदवारलाई मत दिएर स्याङ्जाबाट उदाहरण देखाउनुपर्ने समेत बताए । स्याङ्जामा स्थानीय चुनाव र ०७४ मा भएको कमिकमजोरी अबको निर्वाचनमा सच्याएर जानुपर्नेमा जोड उनको जोड थियो ।

कमेन्ट गर्नुहोस्