गल्याङ । माओवादी केन्द्रका युवा नेता कमल न्यौपानेले ओलीले जनताको सपनामा घात गरेको बताएका छन् । स्याङ्जाको गल्याङ् नगरपालिकामा आयोजित लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरु सहितको चुनावी अभियानलाई सम्बोधन गर्दै उनले अहिले बाम–लोकतान्त्रिक गठबन्धन देशको आवश्यकता बनेको बताए ।
उनले माओवादी केन्द्रले देशको स्थाइत्व र विकासलाई केन्द्रमा राखेर एमालेसँग गठबन्धन हुँदै पार्टी एकता गरेको बताए । उनले भने, ‘हामीले बाम गठबन्धन हुँदै दूई पार्टी एकता गर्यौै । त्यतिबेला माओवादीले देशमा स्थाइत्वसँगै विकास र समृद्धिको सपना देखेको थियो । जनताले पनि त्यहि अपेक्षा गरेर जनमत दिए तर ओलीले त्यसको चरम दुरुपयोग गर्दै संसद र संविधानमाथि नै आघात पुर्याए ।’
देशमा जनताले चाहेको स्थाइत्व र विकासको भएपनि ओलीले लामो संर्घष र वलिदानीबाट प्राप्त उपलब्धिहरुमाथि नै प्रहार गरेका कारण कांग्रेस कम्युनिष्ट मिलेर गठबन्धन बनाउनुपरेको उनको भनाई थियो ।
जनताले गठबन्धनको मर्म अनुसार गठबन्धनका उम्मेदवारहरुलाई जनमत दिनुपर्ने बताए ।