राष्ट्रपति भण्डारीले संविधान उल्लंघन गरेको कांग्रेस नेता कोइरालाको आरोप

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदबाट दुई पटक पास गरेर पठाएको नागरिकता विधेयक पास नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लंघन गरेको आरोप लगाएका हुन् ।

चुनाव प्रचारप्रसारका क्रममा आज आइतबार विराटनगर–११ मा पुगेका कांग्रेसका प्रभावशाली नेता समेत रहेएका कोइरालासँग आमनागरिकले नागरिता विधेयक पास नहुँदा गैरनागरिक बनेर बस्नु परेको गुनासो गरेका छन् । सर्वसाधारणको गुनासो सुनेपछि नेता कोइरालाले राष्ट्रपतिको कारण नागरिकता समस्या समाधान नभएको बताए ।

मोरङ क्षेत्र न. ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका नेता कोइरालाले राष्ट्रपतिले संविधान नमान्दा नागरिकता विधेयक पास नभएको बताए। आइतबार चुनावी प्रचारप्रसारका क्रममा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै नेता कोइरालाले मंसिर ४ गते हुने निर्वाचनपछि बन्ने कांग्रेस नेतृत्वको वर्तमान गठबन्धनको सरकारले नागरिकता विधेयक पास गर्ने दावी समेत गरे ।

कमेन्ट गर्नुहोस्