कोप२७ राष्ट्रसंघीय सम्मेलन शुरुआत : वातावरणीय विपदको चेतावनी

काठमाडौं । हाम्रो ग्रह पृथ्वीले ‘आफू विपद्­मा परेको संकेत दिइरहेको छ’ भन्ने चेतावनी सहित आइतवारबाट इजिप्टमा संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन शुरुभएको छ। महासचिव एन्टोनियो गुटेरसले आइतवार नै सार्वजनिक गरिएको एक प्रतिवदेनको आधारमा त्यस्तो टिप्पणी गरेका हुन् जुन प्रतिवेदनले, अभिलेख अनुसार, गएको आठ वर्ष पृथ्वीमा हालसम्मकै सबैभन्दा बढी तापक्रम भएका वर्षहरूका रूपमा दरिने जनाएको थियो।

कोप२७ भनेर चिनिने इजिप्टको यो सम्मेलनमा १२० जनाभन्दा बढी विश्व नेताहरूले जलवायु परिवर्तनबाट पर्ने विश्वव्यापी असरका सम्बन्धमा चालिनु पर्ने कदमहरूका बारे दुई हप्तासम्म विभिन्न छलफल र वार्ताहरूमा सहभागीता जनाउँदै छन्।कोप २७ का अध्यक्ष इजिप्टका विदेशमन्त्री सामेह शुक्रीले रूसले युक्रेनमा गरेको अतिक्रमणबाट सिर्जना भएको खाद्य तथा उर्जा संकटको अवस्थालाई जलवायु परिवर्तनसँग जुझ्ने कार्यको बाटोमा अवरोध बन्न नदिन नेताहरूलाई आग्रह गरेका थिए।

राष्ट्रसंघका महासचिव गुटेरसले सम्मेलनमा पठाएको एक भिडिओ सन्देशमा सन् २०२२ मा विश्वमा जलवायु परिवर्तनबाट परेको प्रभाव सम्बन्धी एक प्रतिवेदन, द स्टेट अफ ग्लोबल क्लाइमेट रिपोर्ट २०२२, लाई “जलवायु परिवर्तनको नकारात्मक प्रभावबाट सिर्जित भद्रगोलपूर्ण अवस्थाको अभिलेख” भनेका छन्।

उक्त प्रतिवेदनमा वैज्ञानिकहरूले अनुमान गरे अनुसार विश्वको तापक्रम औद्योगिकिकरण युगभन्दा अघिको समयको दाँजोमा १.१५ डिग्री सेल्सिअस्­ले वृद्धि भैसकेको छ र गत आठवटा वर्ष पृथ्वीमा सबैभन्दा तातो वर्षको रूपमा रहने बाटोमा छन्।उक्त प्रतिवेदनले जलवायु परिवर्तनबाट पर्ने व्यापक असरहरूका बारेमा पनि चेतावनी दिएको छ जसमा समुद्रको सतह बढ्ने क्रम तीव्र हुने, हिमनदीहरूको आकारमा ठूलो ह्रास हुने र गर्मीका लहरहरू झन् चर्केर जाने अवस्थाहरू पनि पर्दछन्।

कमेन्ट गर्नुहोस्