देशकै नमुना क्षेत्र बनाउने जीवन आचार्यको प्रतिवद्धता

मोरङ । मोरङ क्षेत्र नं. ६ (क) का गठबन्धन उम्मेद्वार जीवन आचार्यले क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिवद्धता जनाएका छन् । माओवादी केन्द्रका तर्फबाट प्रदेश सभाका लागि उम्मेदवार बनेका आचार्यले क्षेत्रको समग्र विकासमा अकल्पनीय काम गर्ने प्रतिवद्धता गरेका हुन् ।

अघिल्ला नेतृत्वले सपना देखाएर काम गर्न नसकेको आरोप लगाउँदै आचार्यले भने, ‘प्रदेश १ मा थुप्रै काम गर्न बाँकी छन् । भौतिक विकाससँगै सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक विकासका कामहरुलाई समानान्तर लानु छ ।’

सुकुम्बासी, किसान, मजदुर लगायतका समस्याहरु राजनीतिक दलले उठाउनै नसकेको नेता आचार्यको आरोप छ । ‘सडक बन्नुलाई मात्र विकास भनियो । विकास त्योभन्दा बाहिर छ ।’ आचार्यले भने, ‘बिभिन्न क्षेत्रमा तटबन्धनको समस्या छ । किसानहरुलाई मल छैन । उत्कृष्ट परामर्शदाता (प्राविधिक)हरु छैनन् । शैक्षिक गुणस्तरमा समस्या छ । सामुदायिक विद्यालयहरु कमजोर हुँदैछन् । यी समग्र क्षेत्रमा देशकै नमुना काम गरेर देखाउँछु ।’ स्वास्थ्यमा गुणस्तर, शुरक्षाको ग्यारेन्टि, रोजगार र उद्यमशीलताको विकासमा पनि आफू केन्द्रित भएर काम गर्ने आचार्यले बताए ।

स्थानीय बासिन्दा भएका कारण क्षेत्रका सबै समस्या जानकारी भएको नेता आचार्यले बताए । उनले भने, ‘मैले हिजो नजित्दा पनि जनताको सेवा गरेको छु, जित्दा झनै धेरै गर्नेछु ।’

मोरङ क्षेत्र नं.६ का संघीय सांसदका उम्मेद्वार शेखर कोइरालालाई लक्षित गर्दै आचार्यले भने, ‘देशको नेतृत्व गर्नसक्ने अग्रज व्यक्ति साथमा पाएको छु । हामी दुबैलाई जिताउनुस् । अग्रजको अनुभव र युवाको उर्जा मिलाएर हामी नमुना काम गर्नेछौं ।’

संविधान र लोकतन्त्रको रक्षाका लागि मात्र नभएर मुलुककै रक्षाका लागि गठबन्धन आवश्यक भएको जिकिर गर्दै नेता आचार्यले गठबन्धनलाई निर्धक्क भएर भोट हाल्न जनतासामु आग्रह गरे। ‘यो देशको आवश्यकता हो । समयको माग हो ।’ उनले भने, ‘परिवर्तनलाई संस्थागत गर्न हामी एक ठाउँमा उभिएका छौं, यसलाई आम जनताले बुझिदिनुपर्छ ।’

कमेन्ट गर्नुहोस्