पुनः निर्वाचित हुनेमा ढुक्क देखिएका शिवकुमार मण्डल

मोरङ । माओवादी केन्द्रका नेता शिवकुमार मण्डल (केवट) मोरङ निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभामा सत्ता गठबन्धनका साझा उम्मेदवार छन्। पाँच दलीय गठबन्धनका साझा उम्मेदवार बनेसँगै केवटले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन्।

चुनावी अभियानका क्रममा गाउँ–गाउँमा पुग्दा जनताहरूले आफूप्रति सद्भाव, आशा र विश्वास देखाएको उनी बताउँछन्। सोही कारण यसपटक पुनः निर्वाचित हुने उनको विश्वास छ।

उनी घरदैलोका क्रममा आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पुग्ने गरेका छन्। जहाँ जहाँ पुगेपनि सत्ता गठबन्धनप्रति सकारात्मक माहोल देखिएको उनी बताउँछन्। ‘मोरङमा गठबन्धनमा कुनै विवाद छैन । हामी एकढिक्का भएर निर्वाचनमा होमिएका छौँ,’ मण्डल भन्छन्, ‘नेता–कार्यकर्ता तहमा मात्र होइन जनता र मतदाताको स्तरमा पनि गठबन्धन एकढिक्का छ । हाम्रो पक्षमा निकै राम्रो माहोल छ ।’

त्यसो त अघिल्लो चुनावमा पनि यही क्षेत्रबाट निर्वाचित भएका मण्डल यसपटक गठबन्धनका दलहरूको समर्थनमा पुन निर्वाचित हुनेमा विश्वस्त देखिन्छन्। उनको पक्षमा पनि सकारात्मक माहोल रहेको स्थानीयहरूको भनाइ छ ।

को हुन् मण्डल ?

बाबु किसन केवट र आमा रेमनी देवी मण्डलको कोखबाट वि।सं। २०३२ भदौ १० गते शिवकुमार मण्डल ९केवट० को जन्म भएको हो । उनकी पत्नीको नाम शिव रानी देवी मण्डल हो भने उनीहरूका दुई छोरा छन् ।

मोरङकै स्थानीय मण्डलको राजनीतिक जीवन २०४७ देखि सुरु भएको हो। उनी २०५१ मा अनेरास्ववियुको जिल्ला कमिटी सदस्य बने। २०५५ मा अनेरास्ववियु (पाँचौँ) को जिल्ला कमिटी सदस्य बने।

मण्डल २०५७ मा माओवादी केन्द्रको मोरङ जिल्ला सदस्य बने । २०५८ मा माओवादी केन्द्रनिकट मधेसी राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय सदस्य बनेका उनी २०५९ मा सोही संगठनको केन्द्रीय कोषाध्यक्ष तथा कोशी ब्युरो इन्चार्ज बने।

मण्डल २०६० मा तत्कालीन नेकपा माओवादीको कोशी ब्युरो सदस्य तथा मोरङ र सुनसरी जिल्ला जनसरकार प्रमुख बने। २०६१ मा माओवादीको मोरङ जिल्ला सचिव बनेका उनलाई २०६३ मा पार्टीले रौतहट जिल्ला इन्चार्जको जिम्मेवारी दियो।

२०६४–२०७० मा उनी माओवादीको मोरङ इन्चार्ज बने। मण्डल २०६५ मा पार्टीको केन्द्रीय सदस्य बनेका हुन्।

राजकीय जिम्मेवारीमा आपूर्ति मन्त्रीसमेत बनेका केवट २०७० मा मोरङ ४ बाट संविधान सभा सदस्यमा र २०७४ मा मोरङ ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

कमेन्ट गर्नुहोस्