प्रतिगमनलाई परास्त गर्न गठबन्धन गरेको हो : प्रचण्ड

दार्चुला । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले मुलुकको परिवर्तन, लोकतन्त्र, शान्ति र संविधानलाई बचाउनका लागि नेपाली कांग्रेससँग गठबन्धन गरेको बताउनु भएको छ ।

बुधबार दार्चुलाको गोकुलेश्वरमा आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विगतमा सात राजनीतिक दलको तर्फबाट कांग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र आफूले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि नै देशको राजनीतिक परिवर्तनको प्रक्रिया सुरु भएको स्मरण गर्नुभयो।

अहिले मुलुकमा व्याप्त परिवर्तन विरोधी, संघीय लोकतन्त्र विरोधी, संविधान विरोधी र प्रतिगामीहरुलाई परास्त गर्नका लागि नेपाली कांग्रेस लगायत परिवर्तन पक्षधर पार्टीहरुसँग गठबन्धन गरेको उहाँले बताउनु भयो। अध्यक्ष प्रचण्डले नेपाली जनताको साथ र सहयोगसहित गठबन्धनका दलहरु एक ढिक्का भएमा प्रतिगामीहरुलाई परास्त गर्न सकिने दावी गर्नुभयो।

अहिले मुलुकमा दुई खाले गठबन्धन भएको चर्चा गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘ठूलो संघर्षबाट प्राप्त नेपाली जनताको अधिकारको संरक्षण, संविधानको रक्षा, संघीयता, लोकतन्त्र र नेपाली जनताको पक्षमा हाम्रो गठबन्धन बनेको छ।’

प्रतिगामी शक्तिहरुले पनि गठबन्धन बनाएको भन्दै उहाँले भन्नुभयो, ‘जो हिजोका दिनदेखि नै संघर्षबाट प्राप्त उपलब्धिहरुको विरोधी थियो। अहिले पनि निकै ठूलो संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिहरुलाई उल्टाउन चाहन्छ, संविधानलाई च्यात्न चाहने, मुलुकमा राजतन्त्र फर्काउन चाहनेहरुको पनि गठबन्धन बनेको छ। त्यसको नेतृत्व केपी ओलीले गरेका छन्।’

याे पनि पढ्नुस  सिन्धुपाल्चोकमा ६ पदका लागि ६१ जनाले दिए उम्मेदवारी

मंसीर ४ गते यी दुई गठबन्धनबीच ठूलो रणसंग्राम हुने भन्दै प्रचण्डले त्यसको निर्णय नेपाली जनताको हातमा भएको उल्लेख गर्नुभयो । परिवर्तनका पक्षधर, संविधानको रक्षा, शान्ति सम्झौता, लोकतन्त्र, गणतन्त्र, संघीयताका पक्षधरहरुको नेतृत्व गर्ने पार्टीका नेताहरु जनताको घरदैलोमा आएको भन्दै प्रचण्डले जनताले उहाँहरुलाई मत दिने विश्वास व्यक्त गर्नुभयो ।

राजनीतिक स्थिरता र समृद्धिका लागि आफूले ठूलो जोखिम उठाएर वाम एकताको पहल गरेको भन्दै अध्यक्ष प्रचण्डले संविधान च्यात्ने मौका छोपेर बसेका ओली नसुध्रिएको बताउनु भयो।

‘संविधान सभाको विरोध गर्ने, नेपालमा गणतन्त्र हुनै सक्दैन भनेर टिप्पणी गर्ने केपी ओलीले पनि संविधानमा हस्ताक्षर गरिसकेपछि यिनको बुद्धि फिरेको भन्ने म भ्रममा परेँ, देशमा राजनीतिक स्थिरता होला भनेर पार्टी एकताको प्रस्ताव पनि गरेँ,’ उहाँले थप्नुभयो, ‘तर एकता गरिसकेपछि थाहा भयो ओली त मौकाको ताकमा बसेका रहेछन्। जब पावर (शक्ति) हातमा आउँछ अनि यो संविधान च्यात्ने दाउमा बसेका रहेछन्। सबै उत्पीडित, जाति, वर्ग समुदायले पाएको अधिकार खोस्ने उद्देश्यले उनी बसेको थाहा भयो। उनले पाखण्डी चरित्र देखाएका रहेछन्।’

याे पनि पढ्नुस  चुनाव घोषणालगत्तै निर्वाचन आयोगको पत्रकार सम्मेलन

दुई पटकसम्म संसद विघटन गर्नुले उनी बयलगाढावाला सिद्धान्तबाट पछि नहटेको प्रष्ट भएको अध्यक्ष प्रचण्डले बताउनु भयो।

अहिले चुनाव प्रचार प्रसारमा ओलीले दुई तिहाइको बहुमतको सरकार बनाउनु प¥यो भन्दै जनतासमक्ष हार गुहार गर्नुले उनीमा नैतिकता हराएको स्पष्ट देखिने बताउनु भयो । ‘अब एमालेलाई बहुमत किन दिने? भएको दुई तिहाइ बहुमतको सरकार विघटन गर्ने, विशाल पार्टीलाई टुक्रा टुक्रा पार्ने केपी ओली, कुन नैतिकताले जनताको अगाडि बहुमत मागेको?’ प्रचण्डले प्रश्न गर्नुभयो ‘किन फेरि पनि संविधान च्यात्नका लागि चाहियो बहुमत? सदन पटक–पटक विघटन गरेर नेपाली जनताको अपमान गर्न चाहियो बहुमत कि अब बचे खुचेको कम्युनिष्ट आन्दोलनलाई पनि ध्वस्त पार्न बहुमत चाहियो? होइन भने दुई तिहाइ त दिएको थियो नेपाली जनताले।’

धुत्र्याइ गर्न एमाले जति अरु कसैले गर्न नसक्ने भन्दै प्रचण्डले भन्नुभयो, ‘चुनावका बेला जनताको दैलोमा पुगेर गोहीका आँसु बगाउन पनि पछि पर्दैनन् उनीहरु। ती वास्तविक दुःखका आँसु हुँदैनन्, त्यस्ता चिप्लेहरुको पछि नलाग्नु होला।’

चुच्चे नक्सा बनाएको भन्दै ओलीले झ्याली पिटेको भन्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘नक्सा पास ओलीले गरेका होइनन्, तत्कालीन नेकपा बहुमत स्थायी कमिटी सदस्यहरुको मागअनुसार भएको हो।’ त्यसलाई नक्सामा मात्रै हुँदैन, जमिन पनि हाम्रो हो भनी भारतसँग कूटनीतिक पहल गर्नका लागि हामीले पटक–पटक उनीसँग छलफल गर्दासमेत उनले हिम्मत जुटाउन नसकेका हुन्।
आफू नेकपाको एउटा अध्यक्ष रहेको भन्दै प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा समेट्न तत्कालीन नेकपाको बहुमतले बाध्य पारेपछि नेकपाको निर्णय मान्न ओली तयार भएको बताउनु भयो।

याे पनि पढ्नुस  निर्वाचन आयोगले सार्वजनिक गर्‍यो उम्मेदवारहरुको अन्तिम नामावली (सूचीसहित)

आफ्नै प्रस्तावमा ओली दुई पटक प्रधानमन्त्री बनेको भन्दै अध्यक्ष प्रचण्डले सामथ्र्य भए अब प्रधानमन्त्री बनेर देखाउन ओलीलाई चुनौती दिनुभयो।

चुनाव प्रचार प्रसार अभियानमा हिड्नुभएका अध्यक्ष प्रचण्डले गठबन्धनको पक्षमा छाप लगाउन नेपाली जनतालाई अपिल गर्नुभएको छ। जनताले काम गर्न अधिकार प्रदान गरेमात्रै मुलुकको विकास, निर्माण तथा जनताको जीवन उकास्ने काम गर्न सकिने भन्दै उहाँले निर्णय जनताको हातमा भएको स्पष्ट पार्नुभयो।
कार्यक्रमलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पनि सम्बोधन गर्नुभएको थियो।
वाम लोकतान्त्रिक गठबन्धनले आजै डडेल्धुरा र कैलालीमा पनि चुनावी सभा आयोजना गरेको छ। दुवै सभालाई अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।

कमेन्ट गर्नुहोस्