मोरङ । मोरङ क्षेत्र नं. ६ (क) मा वाम लोकतान्त्रिक गठबन्धनबाट माओवादी केन्द्रका उम्मेद्वार जीवन आचार्यले उत्पादन र उद्यमशीलताको विकासमा जोड दिने प्रतिवद्धता जनाएका छन् । आर्थिक क्रान्ति बिना देश समृद्ध हुन नसक्ने धारणा व्यक्त गर्दै नेता आचार्यले प्रदेश सरकार मार्फत जनतामा उत्पादन लक्षित कार्यक्रमहरुलाई प्राथमिकता दिने प्रतिवद्धता जनाएका हुन् ।
अन्नबाली, तरकारी तथा फलफुल उत्पादनमा प्रदेश १ अब्बल रहेको बताउँदै नेता आचार्यले भने, ‘प्रदेश सरकार नै अब आत्मनिर्भर बन्नुपर्छ । बिभिन्न योजनाहरु मार्फत जनजनमा उत्पादनका कार्यक्रम दिनुपर्छ र त्यसको बजारिकरण सरकारले गर्नुपर्छ ।’
तल्लो स्तरका जनतालाई लक्षित गर्दै प्रदेशका बिभिन्न क्षेत्रमा चिस्यान केन्द्रहरु स्थापना गराउने र कृषिलाई संस्थागत गर्ने नेता आचार्यको धारणा छ । ‘प्रदेश १ बाट सिंगो देशलाई पुग्ने अन्न, फलफुल तथा तरकारी उत्पादन गर्न सकिन्छ ।’ नेता आचार्यले भने, यी सबै काममा युवाहरुलाई जोडाउने, सहजिकरण गर्ने र उद्यमी बनाउने हो ।’
युवाहरु आत्मनिर्भर बन्न थालेपछि मात्र देश समृद्ध हुने नेता आचार्यको बुझाई छ । ‘देशमा आयात बढेर महंगी नियन्त्रण बाहिर गएको छ । अनि युवाहरु बेरोजगार छन् ।’ उनी भन्छन्, ‘अब दुबै समस्याको समाधान एकैपटक गर्नुपर्छ । अब युवाहरु जागीरमा होइन, उत्पादनमा लाग्नुपर्छ ।’