पुलचोक–गोन्द्राङ ६ लेन सडकको ५० प्रतिशत काम सकियो

चितवन । भरतपुरमा निर्माणधिन पुलचोक–गोन्द्राङ ६ लेन सडकको ५० प्रतिशत काम सकिएको छ । भरतपुर महानगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर–हेटौँडा खण्डको उक्त सडकको काम अहिले ५० प्रतिशत सकिएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरका डिभिजन प्रमुख रमेशप्रसाद पौडेलका अनुसार ६ लेन सडकको गोन्द्राङदेखि केन्द्रीय बस टर्मिनलसम्म पहिलो र दोस्रो चरणको काम सम्पन्न भइसकेको छ ।

यस्तै हाकिमचोकदेखि चौविसकोठीसम्म सब बेस निर्माणको कार्य धमाधम भइरहेको छ । चौबिसकोठीदेखि पुलचोकसम्म ड्रेनको काम अघि बढेको छ ।
‘आगामी फागुनसम्म निर्माण सम्पन्न हुनुपर्ने हो, तर केही नयाँ काम थपिएकाले समय थप गर्नुपर्ने देखिएको छ’, उनले भने, ‘कंक्रिटिङको काम थप भएको छ । यस्तै पर्खाल पनि थप भएको छ भने सानो ड्रेनलाई ठूलो बनाउनुपर्ने भएकाले तोकिएको समय निर्माण सम्पन्न नहुने सम्भावना छ ।’

आगामी फागुन ११ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने गरी इन्डो सगुन जेभीसँग सम्झौता गरिएको सडक विस्तारको काम अझै ५० प्रतिशत बाँकी काम युद्धस्तरमा अगाडि बढने प्रमुख पौडेलले जानकारी दिए ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ६ लेन सडकलाई गुणस्तरीय र तोकिएको मितिमा सम्पन्न गर्न अनुगमन गर्ने काम भइरहको जानकारी दिइन् । यो सडक मूख्य राजमार्गमा पर्ने भएकाले समयमै निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई ताकेता गरिएको उनको भनाई छ ।

भरतपुर महानगरपालिमा पर्ने ६.०८ किलोमिटर सडक विस्तारले यहाँको सवारी चाप कम हुनेछ ।

नारायणगढ बजारको पुल्चोकदेखि भरतपुरको गोन्द्राङसम्मको पूर्वपश्चिम राजमार्गलाई विस्तार गरी ६ लेन बनाउने काम सरु भएको हो । जम्मा २८ महिनाभित्र विस्तार गर्नुपर्ने सडकको लागत १ अर्ब १२ करोड छ ।

कमेन्ट गर्नुहोस्