काठमाडौं। काठमाडौंका सुकुम्वासी वस्तीहरुमा डोजर चल्ने भएको छ । अव्यवस्थित रुपमा सार्वजनिक सम्पत्ति मिचेर घर टहरा बनाइएको भन्दै त्यस क्षेत्रमा डोजर चलाइने भएको हो । डोजर चलाउनका लागि सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिका एकमत छ ।
काठमाडौं महानगरपालिकाले कार्यपालिकाबाटै अव्यवस्थित संरचना हटाउन डोजर चलाउने निर्णय गरिसकेको छ । महानगरले निर्णय गरेको करिब ३ हप्ता पछि अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले पनि संरचना हटाउन १० दिने अल्टिमेटम दिएको छ ।
तोकिएको समयमा नहटाएको खण्डमा प्राधिकरणले भत्काउने सूचनामा जनाइएको छ । समितिले नदी किनारामा अनाधिकृत रूपमा निर्माण भएका घर टहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन १० दिन समय दिएको जनाएको हो ।
‘काठमाडौं उपत्यका भित्रका बागमती र यसका सहायक नदी किनाराहरुमा तोकिएको मापदण्डभित्र अनाधिकृत रुपले बनाइएका घररटहराहरु तथा थुपारिएका निर्माण सामग्री र सवारी साधनहरुका कारण नदीको दुबै किनारातर्फको सौन्दर्यीकरण कार्यमा गम्भीर अवरोध पर्न गएको हुँदा पटक–पटक सार्वजनिक सूचना मार्फत सूचित गर्दा पनि उक्त सूचनाको वेवास्ता गरी हालसम्म पनि नदीको दायाँ बायाँ किनारा खाली गरेको नपाइएको हुँदा सूचना मिति २०७९ मङ्सिर ४ गतेसम्म अनिवार्य रुपमा त्यस्ता घररटहराहरु तथा थुपारिएका निर्माण सामग्री र सवारी साधनहरु हटाउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ’, सूचनामा भनिएको छ ।
यो सूचना काठमाडौं महानगरको समन्वयमा नै जारी गरिएको हो । मानगरका प्रमुख बालेन शाह अवैध संरचना हटाउने अभियानमै छन् । अवैध संरचना हटाउनका लागि मेयर शाहले दिएको सुझाव अनुसार नै समितिले सूचना निकालेको महानगरका एक अधिकारीले बताए । यस अघि डा। बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला पनि सुकुम्वासी वस्तीमा डोजर चलाइएको थियो । केही स्थायी संरचनाहरु त्यसबेला भत्काइएको थियो ।
डोजर लगाउने समयमा प्रहरी र सकुम्वासीबीच झडप समेत भएको थियो । प्रहरीले दर्जनौँ सेल अश्रुग्यास प्रहार गरेको थियो भने सुकुम्वासी र प्रहरी दुबै पक्षका केही घाइते समेत भएका थिए ।
प्रधानमन्त्री भट्टराईको त्यो अभियान भने सफल हुन सकेन । पक्की घर भत्काएपनि सुकुम्वासीहरु पुनः त्यहीँ ठाउँमा बस्दै आएका छन् । महानगरले भने डोजर चलाउनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग सहयोग लिने तयारी गरेको छ । ‘हामीसँग प्रसस्त फौज त छ, तर महानगरको फौज पर्याप्त छैन’ महानगरका एक अधिकारीले भने, ‘हामी डोजर लगाउने बेला नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोग माग्नेछौँ ।’