अमृता थापा भन्छिन् –मेरो उम्मेदवारीले मतदाता उत्साहित हुनुहुन्छ,जीत्नेमा ढुक्क छु , यस्ता छन् प्रतिबद्धता

स्याङ्जा । अहिले देश मंसिर ४ मा हुने संघ तथा प्रदेशको निर्वाचनमा हुमिएको छ । विभिन्न पार्टीका नेताहरुसँगै स्वतन्त्र उमेदवारहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका छन। चुनाव नजिकिदै गर्दा निर्वाचनको माहोल र उम्मेदवारहरुबीचको चुनावी भिडन्त उत्तिकै रोचक बन्दै गएको छ ।

प्रतिनिधि र प्रदेश सभाका हरेक क्षेत्रमा स्वतन्त्र र विभिन्न पार्टीका नेताहरू चुनावी प्रचारप्रसारमा व्यस्त छन। देशैभरीका १६५ प्रतिनिधि सभा र ३३० प्रदेशसभा क्षेत्रमा मुख्यतः सतारूढ गठबन्धन र विपक्षी एमाले गठबन्धनबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

त्यसै मध्येको एक स्याङ्जा जिल्ला गण्डकी प्रदेशको अति महत्त्व र राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने जिल्लाको रुपमा चुनावी रौनकले माहोल तताएको छ । पूर्व मन्त्री देखि दलका शिर्ष नेतालाई उमेदवारको रूपमा पाएको स्याङ्जाले यसपाली कुन गठबन्धनलाई जिताएर पठाउछ भन्ने चासोका साथ हेरिएको छ ।

स्याङ्जामा प्रतिनिधि सभाका दुई र प्रदेशसभाका ४ क्षेत्र रहेका छन । प्रतिनिधि सभा तर्फ स्याङ्जा १ बाट एमालेको तर्फबाट नारायण प्रसाद मरासिनी र सत्तारूढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता राजु थापा उमेदवार रहेका छन् भने स्याङ्जा २ मा एमाले नेतृ तथा पूर्व मन्त्री पद्मा अर्याल र नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ प्रतिस्पर्धामा रहेका छन् ।

प्रतिनिधि सभामा यी बाहेक अन्य दलबाट पनि उमेदवार रहेता पनि मुलतः दुई गठबन्धनबीच नै प्रतिस्पर्धा हुने निश्चित देखिन्छ। हेभिवेट नेताबीचको प्रतिस्पर्धा र केन्द्रीय स्तरमा प्रभाव भएका व्यक्ति प्रदेशसभामा निर्वाचन लड्दै गरेको हुँदा स्याङ्जाको चुनावी प्रतिस्पर्धालाई विगतमा भन्दा बढी चासोकासाथ हेरिएको छ । अहिले प्रदेशसभा मध्ये क्षेत्र १ (क)को चुनावी प्रतिस्पर्धा झनै रोचक हुने विश्लेषण गर्न थालिएको छ।

खासगरी स्याङ्जा १ को (क)बाट प्रदेश सभा सदस्य पदमा उमेदवार रहेकी अनेमसंघ (क्रान्तिकारी)का अध्यक्ष तथा संविधानसभा सदस्य एंव पूर्व संघिय सासंद अमृता थापा मगर र एमालेका तर्फबाट उमेदवार रहेका स्याङ्जा जिल्ला पूर्व समन्वय प्रमुख सिता सुन्दासबीचको प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ। उक्त क्षेत्रम यसअघि माओवादी केन्द्रका नेता दीपक चर्तिले निर्वाचन जितेर हाल प्रदेश सरकारको वन तथा वातावरण मन्त्रि रहेका छन् ।सो क्षेत्रमा यसअघिको मतलाई हेर्दा गठबन्धनबाट उम्मेदवार रहेकी अमृता थापा एमाले उम्मेदवार सुन्दास भन्दा अगाडी छन् ।

माओवादी केन्द्रको महिला संगठन अनेमसंघ (क्रान्तिकारी)को केन्द्रीय अध्यक्ष थापालाई गण्डकी प्रदेशमा माओवादी केन्द्रबाट भावी मुख्यमन्त्रीको जिम्मेवारी दिनसक्ने भएकोले पनि त्यहाँका मतदाता तथा नेता कार्यकर्ताले उत्साहित देखिन्छन् । केन्द्रीय स्तरमा पँहुच र प्रभाव राख्ने थापालाई प्रदेशमा महत्वपूर्ण भुमिक दिने गरी नै पार्टीले प्रदेशसभामा निर्वाचनमा पठाएको नेताहरु बताउँछन् ।

आखिर को हुन् त अमृता थापा मगर ?

वि.स. २०२९ साल जेठ ५ गते स्याङ्जाको बिरुवा अर्चलेमा जन्मिएकी अमृता थापा मगर एक साहसिक क्रान्तिकारी योद्धा हुन्। स्याङ्जाको एक दुर्गम गाउँमा सामान्य परिवारमा जन्मेर राष्ट्रिय राजनीतिमा आफ्नो पहिँचाहन बनाउन सफल थापा जनयुद्ध देखि गणतन्त्र प्राप्तिको दोस्रो ऐतिहासिक जन–आन्दोलनमा नेतृत्वदायी भुमिका निर्वाह गरेकी छन् ।

रेडियो नेपालमा समाचार वाचिकाको रुपमा कार्यरत थापा रेडियोको जागिरबाट राजिनामा दिएर जनयुद्धमा होमिएकी थिइन्। खादै आएको सरकारी जागीर , बृद्ध अवस्थाका बाआमा र कलिला छोराछोरीको स्याहारसुसार छोडेर जनयुद्धमा होमिएकी थापा राज्यसत्तामा महिलाको भुमिका स्थापित गर्दै चुलोचौकोमा मात्रै सिमित गर्न नहुने बताउछिन् ।संचार माध्याम र प्रचारमा खासै रुचि नराख्ने थापा मगर यसपटक भने स्याङ्जाली जनताको मतबाट चुनिएर जनप्रतिधिको रुपमा आफ्नो जन्म थलोको समृद्धिमा खट्न पाउँनेमा ढुक्क जस्तै देखिन्छिन् ।

अमृता थापा २०४८ सालमा नेकपा एकता केन्द्रको पार्टी सदस्यता लिएर निरन्तर आन्दोलन र अभियानको नेतृत्व गर्दै आएकी छन्। वि.स.२०४६ सालको जनआन्दोलनमा पोखराका मैदानमा मसाल बोकेर हिडेकि उनी २०४७ सालमा तत्कालीन अनेरास्ववियूको पृथ्वीनारायण क्याम्पस ईकाई सदस्य भइन्। त्यस्तै विद्यार्थी आन्दोलनमा समाहित हुने क्रममा २०४८ सालमा अनेरास्ववियूको स्याङ्जा जिल्ला सचिव र २०४९ सालमा गण्डकी समन्वय समिति सदस्यको जिम्मेवारीमा रहेर काम गरिन् ।

२०५० सालमा गण्डकी धौलागिरी सासंकृतिक संगम सदस्यमा चयन भएकी उनी नेकपा माओवादिको २०५१ सालमा चितवनमा भएको राष्ट्रिय सम्मेलनमा गण्डकीबाट प्रतिनिधिको रूपमा सहभागी भएकी थिईन्।पार्टीका नेता तथा बाग्मती प्रदेश ईन्चार्ज हितमान शाक्यसँग २०५१ साल चैत २६ गते बिवाह बन्धनमा बाधिएकी थापाका २ छोरी रहेका छन् । पार्टी भित्र लामो त्याग र सङ्घर्षबाट नेतृत्वमा स्थापित हुन सफल नेतृ थापाले पार्टीको आँठौ महाधिवेशनबाट पुनः केन्द्रीय सदस्यको जिम्मेवारी पाएकी थिईन् । क्षमता र आवश्यकतालाई मध्यनजर गरी पार्टी भित्र नयाँ पुस्ता भित्रिनु पर्ने धारणा राख्ने थापाले युद्धकालीन समयदेखि आजसम्म पनि माओवादी पार्टीमा महिलाको भुमिका नेतृत्व स्थापित हुनुपर्नेमा आवाज उठाउदै आएकी छन् ।

देशभर तत्कालीन माओवादीको नेतृत्वमा जनयुद्धको सूक्ष्म तयारी चलिरहँदा कमरेड सन्ध्या २०५१ सालमा अनेमसंघको काठमाडौं उपत्यका समन्वय समितिको संयोजक तथा पार्टीको एरिया सदस्य भएकि थिईन्। वि.स.२०५२ देखि भूमिगत हुँदै पूर्वी नेपालको क्षेत्रमा बन्दुक र बारूदसँग खेल्दै हिडेकी नेतृ थापा २०५३ सालमा नेकपा माओवादी सुनसरी मोरङ संयुक्त जिल्ला सदस्य हुँदै २०५६ सालमा नेकपा माओवादी कास्की जिल्ला सदस्य तथा पोखरा नगर ईन्चार्ज भएकी थिईन्।

जनयुद्धकालमा पार्टीको पूर्वी कमाण्डमा नेतृत्व गरेकी थापा राजनीतिमा महिला सहभागीताको विषयमा सचेततापूर्वक लड्दै आएकी छन् ।वि.स.२०५७ सालमा पार्टीको कपिलवस्तु जिल्ला सदस्य भएकी थापा २०५८ सालमा पार्टीको क्षेत्रीय ब्युरो सदस्य बनिन् । २०५८ सालमा पार्टीको प्रवास महिला फ्याक्सन ईन्चार्ज तथा दिल्ली राज्यसमितिको सेक्रेटरी बनेकी थापा २०६० सालमा उदयपुर जिल्ला ईन्चार्ज एवं माओवादीको पूर्णकालिन सदस्य बनिन् ।

२०६१साल मा तत्कालीन माओवादीले पूर्वको पहिलो सेना माथिको सफल कार्वाही गर्ने क्रममा भोजपुर टावर र जेल आक्रमणमा परि सामान्य घाईते भएकी थापा घाइते ज्यानसँग बन्दुकको साथी बनेर युद्धमै सहभागी बनिरहिन् । वि.स.२०६१ सालमा अनेमसंघको महासचिव हुँदै पार्टीको पूर्वका शसक्त ४ जिल्ला (उपब्युरो) सिन्धुली ,धनुषा,सर्लाही,र महोत्तरीको पार्टी ईन्चार्ज भएकी अमृता थापा मगर फस्ट डिभिजन जनमुक्ति सेनाको राजनीतिक कमिसार भएर काम गरिन् ।

त्यस्तै,२०७०सालमा नेकपा माओवादिको पोलिटब्युरो सदस्यमा चयन भएकी थापा माओवादी केन्द्रको महिला संगठन अनेमसंघ (क्रान्तिकारी)को अध्यक्षमा निर्वाचित भएकि थिईन।

वि.स.२०६३ सालमा अन्तरिम व्यवस्थापिका ससंदको सदस्य भएकी नेतृ थापा पहिलो संविधानसभाको प्राकृतिक स्रोत , आर्थिक अधिकार तथा राजश्व बाडफाँड समितिको सभापति भएकि थिईन। वि.स. २०७२ सालमा माओवादीको सचिवालय सदस्य भएकी नेतृ थापा २०७५ सालमा नेकपा एमाले र माओवादीबीच पार्टी एकता हुँदा केन्द्रीय सदस्य भईन् ।

स्याङ्जामा लोकतान्त्रिका–बाम गठबन्धको साझा उम्मेदवारको रुपमा निर्वाचनमा होमिएकी थापालाई गठबन्धनका सहयात्री दल कांग्रेस र समाजवादीको दरिलो साथ छ । केन्द्रको सांसद र पार्टीको केन्द्रीय भुमिकामा लामो समय काम गरेकी थापाले केन्द्र, प्रदेश र पालिकासँग समन्वय गरी आफ्नो क्षेत्रको विकास निर्माणसँगै राजगारी सृजनामा काम गर्ने बताएकी छन् । गठबन्धन दलको दरिलो साथ पाएकी थापा स्याङ्जा बनाउने अभियानमा लाग्ने उदेश्यले उम्मेदवार बनेको बताइन् ।

संविधान ,संघियता, गणतन्त्र , धर्म निरपेक्षता , समावेशीता, समानुपातिक प्रणाली जस्ता थुप्रै उपलब्धी हासील गर्न आफ्नो जीवन समर्पित गरेकी थापा अब जनताबाट प्रत्यक्ष निर्वाचित भएर विकास र समृद्धिको कार्यान्वयन गर्न सकिने ठाउँमा पुग्न जनताको घरदैलोमा आईपुगेकी छन्। आफ्नो करिब आधा जीवन देशका निम्ति दिएकी थापाले अबको समय जनताको सुख, समृद्धि र दिगो विकास सहितको आर्थिक , सामाजिक परिवर्तनमा बिताउनु पर्ने अवसर र चुनौती दुवै कुरा एकैपटक आएको छ। स्याङ्जामै जन्मिएर देशको केन्द्रीय स्तर सम्म पुगेर महिला हक र अधिकारका बिषयमा बारम्बार संसदिय समितिमा बहस र छलफल चलाउने थापालाई गठबन्धनको दरिलो साथ रहेकोले जीत हुनेमा ढुक्क छन् ।

यस्ता छन् अमृता थापा मगरका प्रतिबद्धता

‘कृषि,पर्यटन र पूर्वाधार, जनजीवन बदल्ने पहिलो आधार’
–संविधान कार्यान्वयन, कृषि, पर्यटन र पूर्वाधार निर्माण गर्दै स्वदेशमै रोजगार सृजना गर्ने । भ्रष्टाचार र अनियमितताको अन्त्य गर्दै शुसासन र छिटो छरितो सेवा प्रदान गर्ने ।

–सामाजिक न्याय सहितको समृद्धिको लक्ष्य पुरा गर्ने ।

– निर्वाचन क्षेत्र एक सडक अन्तर्गत ज्यामीरे खाली विरुवा मेबाभूरुहन वालिङ सडकलाई पुरा गर्ने ।

–गैरी बिरुवा सालडाँडा–काल्बु–पोखरा–ज्याग्दी कोरिडोरलाई विस्तार एवं स्तरोन्नती गरि कालो पत्रे पुरा गर्ने । बिरुवा धौवादी राइखोला सडकलाई स्तरोन्नती एवं कालोपत्रे पुरा गर्ने ।

–बयरघारी बायोक बिरुवा सडकलाई स्तरोन्नती एवं कालोपत्रे पुरा गर्ने ।अन्तरपालिका जोड्ने सडकहरुको विस्तार एवं स्तरोन्नती गरिने छ । एक घर एक धारा खानेपानी योजना अन्तरगत सबै बस्तीहरुमा खानेपानीको सुविधा पुर्याइने छ ।

–लिप्टी सिंचाइको व्यवस्था गरी सिचाइमा पहुँच पुर्याइ उत्पादनमा बढोत्तरी गरीने छ ।

–आवश्यक र अत्यन्तै जोखिम बस्ती तथा स्थानहरुमा सिचाई तटबन्धनहरु गरि संरक्षण गरिनेछ । सामाजिक एवं सांस्कृतिक महत्व राख्ने भवन गुम्बा, मठ मन्दिरहरुको संरक्षण, मर्मत सम्भार गरि सम्बर्द्धन एवं प्रर्वद्धन गरिनेछ । किटिया क्याक्मी दन्दी सडकलाई विस्तार एवं स्तरोन्नती एवं कालोपत्रे गरिनेछ ।

–विभिन्न कृषिका आयोजनाहरु संचालन गरि स्वरोजगार एवं रोजगारीको सृजना गरिनेछ ।

–कृषक सम्मान कार्यक्रमहरु संचालन गरिनेछ ।

–कृषी उपज वस्तु संकलन केन्द्रहरुको स्थापना तथा व्यवस्थापन गरिनेछ ।

–सुन्तलाको पकेट क्षेत्र विस्तार गरी नगदेवाली उत्पादनमा बढोत्तरी गरीनेछ । प्रत्येक पालिकामा सबै जनतालाई पायक पर्ने गरी पालिका स्तरिय विशेषज्ञ चिकित्सक सहितको अस्पताल निर्माण गरिनेछ । ं

–शिक्षामा जनताको सरल पहुँच हुने व्यवस्था गरिनेछ ।

–ग्रामिण सामुदायिक स्कूलहरुको गुणस्तरमा वृद्धि गरिनेछ ।
–जिर्ण एवं काठका विद्युत पोलहरु प्रतिस्थापन गरि स्टिल पोलहरुले बिजुलीको सरल पहुँच पुयाईनेछ ।

–शिक्षाचौक बहाकोट–काल्बु नाम्चे सडक स्तरोन्नती तथा कालोपत्रे गर्न पहल गरिनेछ ।

–विभिन्न पर्यटकीय स्थलहरुको पहिचान तथा संरक्षण प्रवर्द्धन गरि आन्तरिक तथा बाह्य पर्यटनको विकास गरिनेछ । युवा स्वरोजगार, खेलकुद तथा अन्य आवश्यक युवा हितकारी कार्यक्रमहरु संचालन गरिनेछ ।

–जेष्ठ नागरिक, महिला, दलित लगायत उत्पीडित वर्गलाई सम्मानका साथ बाँच्ने वातावरण निर्माण गरिने छ ।

–टेलिफोन तथा इन्टरनेटको पहुँच घरघरमा पुन्याइने छ ।

–मार्बल, चून दुइमा लगायत यहाँको प्राकृतिक खनिज पदार्थको उत्पादन गरी प्रयोगमा ल्याई स्थानीय युवा शक्तिलाई रोजगारीको व्यवस्था मिलाई वैदेशिक पलायनलाई रोकिने छ ।
–सुन्दर स्याङ्जा, समृद्ध स्याङ्जा अन्तर्गतको विकसित क्षेत्रको रूपमा यस क्षेत्रलाई परिचित गरिनेछ ।

कमेन्ट गर्नुहोस्