दार्चुला । चुनावी अभियानको क्रममा रहेका माओवादी केन्द्रका नेता जयभान सिंह धामीलाई नेकपा(एमाले)का कार्यकर्ताले रड प्रहार गरेका छन् । दार्चुलाको नौगाड गाउँपालिकामा एमाले कार्यकर्ताको सामूहिक आक्रमणबाट नेता जयभान सिंह धामी गम्भिर घाइते भएका हुन् ।रड प्रहारबाट टाउकोमा चोट लागि गम्भिर घाइते भएका धामीलाई जिल्ला अस्पताल दार्चुलाले धनगढी रिफर गरेको छ ।
नेकपा (माओवादी केन्द्र) दार्चुला– काठमाडौ सम्पर्क समन्वय समितिका अध्यक्ष कमरेड जयभान सिह धामी निर्वाचन अभियानको क्रममा बिहानको खाना खाएर कार्यक्रममा निस्कने क्रममा रहेको बेला दार्चुलाको नौगाडमा ५० जनाको समुहमा आएका एमालेका-नेता कार्यकताले रडले सांघातिक प्रहार गरेको माओवादी केन्द्रका नेता तारादत्त भट्टले जानकारी दिए । धामीको टाउकोमा रडले प्रहार गरिएको हुँदा अझै होस नआएको भट्टले बताए । स्वस्थ प्रतिस्पर्धाबाट एमाले डराएको हुँदा उम्मेदवार गणेश ठगुन्नाले धामीमाथि आक्रमण गर्न लगाएको नेता भट्टले बताए ।
रड प्रहारबाट बेहोस भएपछि आक्रमणकारीहरुले उनलाई बेहोस अवस्थामा छाडेर हिडेको एक स्थानीयले बताए ।आक्रमणबाट गम्भिर घाइते बनेका धामीलाई देखेपछि स्थानीयले माओवादी केन्द्रको कार्यकर्तालाई खबर गरेका थिए । उनलाई दार्चुलामा सामान्य उपचार पछि अञ्चल अस्पताल धनगढी रिफर गरिएको छ । हारको मानसिकताबाट प्रेरित भएर एमालेले आफ्ना नेतामाथि भाडाका गुण्डा प्रयोग गरी आक्रमण गरेको माओवादी केन्द्रले जनाएको छ ।
साथै, गठबन्धन दार्चुलाले घटनाको भत्सना गर्दै दोषिमाथि कारबाही तथा घाइतेको शिर्घ स्वास्थ्यलाभको कामना गरेको छ ।