भारतीय अभिनेत्री शबाना आजमी नेपाल आउँदै

काठमाडौं । भारतका सुप्रशिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमी नेपाल आउने भएकी छन् । उनी दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) मा विशेष अतिथिको रुपमा सहभागी हुन काठमाडौं आउन लागेकी हुन् ।

आउँदो मंसिर ९ गते सुरु हुने महोत्सवको उदघाटनमा विशेष अतिथिको रुपमा आयोजक मण्डला थिएटरले रंगमञ्च र चलचित्रमा सुप्रशिद्ध अभिनेत्री आजमीलाई आमन्त्रण गरेको हो । सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव भन्ने नाराका साथ हुन लागेको यस महोत्सवमा उनले नेपाली रंगकर्मी तथा कलाकारहरुलाई ‘मास्टरक्लास’ पनि दिने महोत्सवकी निर्देशक सिर्जना सुब्बाले जनाएकी छन् ।

मास्टरक्लास महोत्सवको दोस्रो दिन मंसिर १० गते साँझ ७ः३० बजे मण्डला थिएटरको मुख्य हलमा हुनेछ । साथै अभिनेत्री शबाना आजमीले महोत्सवले आह्वान गरेको ‘इनोभेटभि आइडिया अवार्ड’का लागि आवेदन परेकामध्ये एक अवधारणालाई आयोजकको तर्फबाट पुरस्कृत पनि गर्ने महोत्सवकी संयोजक विजया कार्कीले बताइन्।

भारतमा सबैभन्दा प्रशंसित अभिनेत्रीहरु मध्ये एक शबाना आजमीले उत्कृष्ट अभिनेत्रीका लागि पाँच राष्ट्रिय फिल्मफेयर अवार्ड तथा विभिन्न अन्तर्राष्ट्रिय सम्मान पाउनेछन् । विशिष्ट र अपरम्परागत महिलाको चित्रणका लागि परिचित आजमीलाई भारत सरकारले सन् १९९८ मा ‘पद्यश्री’ र सन् २०१२ मा ‘पद्य भूषण’बाट सम्मान गरेको थियो ।

मण्डला थिएटरमा मंसिर १७ सम्म आयोजना हुने महोत्सवमा देश–विदेशका २२ नाटकको सहभागिता हुनेछन् । महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् ।

कमेन्ट गर्नुहोस्