काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य तथा पूर्व सभामुख ओनसरी घर्तीले मंसिर ४ गतेको चुनावमा जनताले नेकपा एमालेलाई दण्ड दिने बताएकी छन् । प्रतिनिधिसभाका लागि काठमाडौं क्षेत्र नम्बर २ को वाम लोकतान्त्रीक गठबन्धनको साझा उम्मेदवार रहेकी घर्तीले एमालेका अध्यक्ष केपी ओलीले नक्कली राष्ट्रवादको नारा दिएको बताईन् ।
ओलीको राष्ट्रवादको नारामा नभुलिन आग्रह गर्दै उनले मध्यरातमा ‘रअ’का प्रमुखसँग प्रधानमन्त्री भएका बेला ओलीले के के सम्झौता गरे ? भनि प्रश्न गरिन् ।सार्वभौम संसदले सर्वसम्मत रुपमा पारित गरेको नेपालको भूगोल समेटिएको चुच्चे नक्सा तत्कालिन प्रधानमन्त्री ओलीले नै पाठ्यपुस्तकमा छाप्न नदिएको बताईन् ।
असली राष्ट्रवादी शक्ति गठबन्धन नै भएको दावी गर्दै उनले विगतमा नेताहरुले व्यवस्था परिवर्तन गरेको र अबको नयाँ नेतृत्वले अवस्था परिवर्तन गर्ने बताईन् । अवस्था परिवर्तनका लागि युवा नेतृत्व अघि आउनु पर्ने तर्क अघि सार्दै उनले आजैबाट आफू ४६ वर्षमा प्रवेश गरेको जानकारी दिईन् ।
राज्यका ३ कार्यकारी अंगमध्ये एक संसदको नेतृत्व गर्दै गर्दा नैतिकता नगुमाईकन आफूले काम गरेर प्रमाणित गरेको बताउदै उनले काठमाडौं क्षेत्र नम्बर २ का जनताको जिम्मा लिने बताईन् । ‘मुख्यत सांसदको काम नीति नियम र कानुन बनाउने हो तर पनि जनताको विकास प्रतिको तिब्र आकांक्षा पुरा गर्न पनि सांसदले भूमिका खेल्न सक्नु पर्छ। तसर्थ, स्थानीय निकाय, प्रदेश सरकार, केन्द्र सरकार र सरकारी निकायसंग समन्वय गरेर विकास निर्माणको काम गर्नेछौँ,’ उनले भनिन्, ‘काठमाडौँः व्यवस्थित र सुरक्षित सहर , कागेश्वरी मनोहराः स्पोर्टस सिटी, र शंखरापुरस् कला सांस्कृतिक ग्राम बनाउने योजना सहित हामीले विकास निर्माणको पहल गर्ने छौँ। ऐतिहासिक र पुरातात्विक महत्व बोकेका नेवाः सांस्कृतिक सहर साँखु, शालीनदी, बज्रयोगिनी तथा मणिचुड क्षेत्रलाई समेटेर सुन्दर धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न वृहत गुरुयोजना तयार गरि सोही अनुसारका संरचना निर्माण, सम्पदा संरक्षण, पर्यटकीय पथ, केवलकार निर्माणको पहल गर्ने छौ । साथै बज्रयोगिनी मन्दिरलाई विश्व सम्पदा सुचीमा सुचिकृत गर्न आवश्यक पहल गर्ने छौं।’
‘साँखु –फड्केश्वर सडकलाई पुर्णता दिई मध्यपहाडी लोकमार्ग सडकसँग जोड्ने । साँखु– बज्रयोगिनी– घुमारचोक– डाँडाकटेरी –चौकि भंज्याङ –धारापानी –पटाप –कुण्डेश्वर–सिन्धुपाल्चोक सडक निर्माण लाई पूर्णता दिनेछौं । इन्द्रायणीसाना गाउँ–भुल्बु–घुमारचोक–मणिचूड–चिसापानी सडक स्तरोन्नती गर्न पहल गर्ने छौ। यस क्षेत्रका बाटो नपुगेको ठाँउमा नयाँ बाटो र पुगेको ठाँउमा मर्मत सम्भार तथा पिच गर्ने छौं, कार्यक्रममा उनले भनिन् ।
राजनीतिक मुद्धामा अबको ५ वर्ष गठबन्धन संगसँगै हुने जानकारी गराउँदै उनले गठबन्धनले संघ र प्रदेशमा समेत सरकार बनाउने दावी गरिन् ।