ओनसरीलाई भोट माग्दै प्रकाशमानले भने : सक्षम महिलालाई अगाडि बढाउनुस्

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नम्बर २ मा स्थापित महिला उम्मेदवारलाई सबैले साथ दिनुपर्ने बताएका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक–वाम गठबन्धनबाट उम्मेदवार माओवादी नेता तथा पूर्वसभामुख ओनसरी घर्तीको पक्षमा मत माग्न साँखु पुगेका सिंहले सक्षम महिलालाई अगाडि बढाउन मतदातालाई आग्रह गरे ।

साँखुमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्व महामन्त्री सिंहले काठमाडौं २ मा मतदाताले सोचेभन्दा बढी विकास गर्नसक्ने क्षमताको उम्मेदवार ओनसरी घर्ती भएको बताए ।

‘पूर्वसभामुख यहाँबाट प्रतिनिधिसभाको लागि उम्मेदवार हुनुहुन्छ । उहाँलाई मैले संविधानसभाकै क्रममा सदस्यका नाताले नजिकबाट चिन्ने मौका पाएको हो । सभामुख हुँदाखेरि संसदमा उहाँले खेलेको सकरात्मक भूमिका, उहाँको क्षमता देखेको कारणले समर्थन गर्न आग्रह गर्दछु ।’ उनले थपे, ‘१६५ वटै निर्वाचन क्षेत्रबाट निर्वाचित हुने सांसद नै हुन्छन् । तर सबैको मन्त्री, उपप्रधानमन्त्री, सभामुख र उपसभामुख हुने हैसियत हुँदैन, उनले भने, ‘उपसभामुखबाट सभामुख भइसकेको संसद्‍मा उहाँको क्षमता राम्रोसँग देखिएकाले गर्दाखेरि भरोसा र विश्वास छ ।’

त्यस्तै, नेता सिंहले संविधान कार्यान्वयन गर्नका लागि लोकतान्त्रिक–वाम गठबन्धन बनेको बताए । उनले संविधान जारी भएपछिको पहिलो प्रतिनिधिसभाले संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने कानुन निर्माण गर्न नसकेको, स्थानीय तह र प्रदेशहरूलाई संविधानमा सुनिश्चित अधिकार प्राप्त नभएको बताए ।

कमेन्ट गर्नुहोस्