मोरङ । पूर्व प्रधानमन्त्री एंव माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओलीले जनताका अधिकार लेखिएको संविधान च्यात्न खोजेका कारण गठबन्धन गरिएको बताएका छन् । मोरङ क्षेत्र नम्बर ६ (१) सुन्दरहरैँचा नगरपालिका–७ स्थित गछियामा बुधबार सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले देश सबै वर्ग, तह र तप्काका जनातको अधिकार स्थिापित गर्न बनाइएको संविधान ओलीले च्यात्न खोजेको बताए ।
देशमा द्धन्द्धलाई शान्तिमा रुपान्तरण गर्न कांग्रेस माओवादी मिलेर मात्रै सम्भव भएको प्रचण्डले बताए । शान्ति सम्झौतामा गरिएको हस्ताक्षरलाई गिरिजाप्रसाद कोइरालाले माओवादीको हँसिया हतौडामा छाप लगाएको र माओवादीले कंग्रेसको रुख चिन्हमा छाप लगाएको रुपमा बुझ्नुपर्ने प्रचण्डको भनाई थियो ।
शान्ति संविधान , जनताको अधिकार र लोकतन्त्रको निम्ति कांग्रेसले हसियाँ हतौडामा र माओवादीले रुखमा भोट हाल्न हिच्किचाउन नहुने कुरामा प्रचण्डको जोड थियो । ओली इतिहासलाई पछाडी लान खोजेपछि गठबन्धन बनाइएको स्मरण गर्दै प्रचण्डले भने– ‘ अहिलेको निर्वाचन सामन्य आवधिक निर्वाचन जस्तो हाइन, योत देशलाई अग्रमनतिर लैजाने की प्रतिगमन तर्फ लैजाने भन्ने दुई प्रवितिबीचको लडाई हो । त्यसैले बृहत शान्ति सम्झौताका साझेदार मुख्य दल मिलेर प्रतिगमनलाई परास्त गर्नुपर्दछ । ’
ओली नेतृत्वको गठबन्धन सामन्ति राजतन्त्र तर्फ लानेहरुको गठबन्धन भएको भन्दै अहिलेको निर्वाचनलाई अग्रगमन र प्रतिगमनबीचको जनमत संग्रहको रुपमा लिनुपर्ने प्रचण्डले बताए ।
शान्ति सम्झोताका बेला कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाई डा. शेखर कोइरालाले दिएको साथ र सहयोगलाई स्मरण गर्दै अध्यक्ष प्रचण्डले शान्ति सम्झौता र अहिलेको प्रक्रियाको महत्वपूर्ण पात्रलाई मोरङ ६ ले उम्मेदवारको रुपमा पाएको बताए । मोरङ क्षेत्र नम्बर ६ ले बौद्धिक अनुभवी नेताको रुपमा डा. शेखर कोइराला र गतिशील युवा उम्मेदवारको रुपमा जीवन आचार्यलाई पाएको भन्दै शान्ति र संविधानको रक्षा साथै मोरङको विकासका निम्ति गठबन्धनका उम्मेदवारलाई मतान गर्न आग्रह गरे ।
मोरङ क्षेत्र नम्बर ६ को प्रदेशसभा १ मा युवा नेता जीवन आचार्य गठबन्धनबाट चुनावी मैदानमा छन्। जहाँ संघतर्फ कांग्रेस नेता कोइरालाले एमाले नेता लालबाबु पण्डितसँग प्रतिस्पर्धा गरिरहेका छन्।