बर्दिया–२ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पन्थ को हुन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता एवं समाजसेवी सुरेश पन्थ बर्दियाका लोकप्रिय नेता हुन्। बर्दिया निर्वाचन क्षेत्र नं २ बाट बाम लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पन्थ अहिले माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिका सदस्य हुन् ।

को हुन् सुरेश पन्थ ?
रुपन्देही जिल्लाको तत्कालीन मंगलापुरमा वि.सं. २०३३ सालमा बुवा टिकाराम पन्थ र आमा धनमाया पन्थको कोखबाट जन्मिएका सुरेश पन्थ अहिले बर्दिया जिल्लाका लोकप्रिय नेताका रुपमा परिचित छन्। जन्म स्थान रुपन्देही भए पनि उनले कर्मथलो भने बर्दियालाई बनाएका छन्। २०५० सालमा बुवाआमासहित बर्दियाको ग्रामीण भेग मधुवन नगरपालिका–४ बन्दरभरिया, तत्कालीन ढोढरी गाविसमा बसाइ सराइ आएका थिए।
सानैदेखि धेरै काम गर्न मन पराउने उनले राजनीतिमा आउनुअघि हाइड्रो पावर, जडीबुटी उद्योग, जडीबुटी खेती, यूपीभीसी उद्योग, कृषि खेती लगायत विभिन्न क्षेत्रमा पाइला चाले। पन्थ जुझारु र मेहनती युवाका रुपमा चिनिन्छन्।

औपचारिक शिक्षा एसएलसीसम्म मात्रै अध्ययन गरे पनि शिक्षा क्षेत्रको विकासका लागि उनी रातदिन खट्ने गरेका छन्। शिक्षाको बिकासबाट मात्र युवा पलायन रोक्न सकिने उनको ठम्याई छ। पन्थले सहिद, घाइते, बेपत्ता परिवारका बच्चा बच्चीहरुलाई निःशुल्क पढाउनुका साथै जनताको दुःखको समयमा सधैं अग्रमोर्चामा रहेर काम गर्दै आएका छन्।

राजनीतिक आबद्धता
२०४६ सालदेखि नै विद्यार्थी संगठनमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गरेका पन्थले माओवादी जनयुद्धमा भूमिगत जीवन व्यतीत गरे । युद्धकालमा पार्टीको विदेश विभागअन्तर्गत केन्या र अफ्रिकाको व्यावसायिक संगठनको इन्चार्ज भएर समेत काम गरे। हाल उनी माओवादी केन्द्र लुम्बिनी प्रदेशका सदस्य हुन्।

४५ वर्षीय पन्थ हरेक काम गर्न सक्ने सामथ्र्य राख्छन्। पन्थको नाम बर्दियामा असल समाजसेवीको रुपमा परिचित छ।

विश्व नै कोरोना महामारीबाट आक्रान्त बनेको बेला उनी संक्रमितहरुको उपचार र सेवामा खटिए। आफ्नै खर्चमा काठमाडौंबाट पचास लाख बराबरको स्वास्थ्य सामग्री खरिद गरी स्थानीय सरकारलाई हस्तान्तरण गरे। उनको त्यो सहयोगले बर्दियाबासीलाई कोरोना महामारीबाट बच्नका लागि ठूलो राहत मिलेको थियो।

पन्थले विभिन्न समयमा गरिब, पछि पारिएका समुदाय र समस्यामा परेकाहरुलाई आर्थिक सहयोग, निःशुल्क स्वास्थ्य शिविरको आयोजना, बिरामीहरुलाई उपचारको व्यवस्था गर्दै आएका छन्।
उनले स्थानीय स्तरमा उद्योगको स्थापना गरी बेरोजगार युवाहरुलाई रोजगारीको सुविधा पनि दिलाएका छन्। कृषि क्षेत्रमा समृद्धि र विकास देखेका पन्थले मधुवन ६ र गुलरिया ३ को करिब ५० बिघा जग्गामा कृषि फार्म खोलेर वैदेशिक रोजगारीमा पलायन भएका युवालाई देशमै रोजगारी दिएका छन्।

अति विपन्न र सहिदका ३५ जना सन्तानहरुलाई आफ्नै खर्चमा पठनपाठन व्यवस्था मिलाई उनीहरुको भरोसा बनिदिएका छन् पन्थ। त्यस्तै, हरेक वर्ष विभिन्न खेलकूद आयोजना गर्ने र खेलाडीहरुलाई प्रोत्साहित गर्न आफ्नै खर्चमा सक्षम खेलाडी उत्पादन गर्न लगानी गर्दै आएका छन्।

कोरोनाको समयमा निजी लगानीमा समुदायलाई सहयोगका साथै समाजसेवाका क्षेत्रमा निरन्तर योगदान गरेको भन्दै सरकारले गत वर्ष विभुषित गरेको थियो। राष्ट्रपतिबाट पदक प्राप्त गरी विभुषित हुन पाउँदा आफूलाई समाजसेवामा झनै प्रतिबद्ध भएर लाग्ने हौसला मिलेको उनी बताउँछन्।
प्रस्तुति : पुष्पा महरा

कमेन्ट गर्नुहोस्