मैत्रीपूर्ण फुटबलः पाकिस्तान विरुद्ध नेपालको जित

काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ । आज साँझ दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपालले १–० गोलको जित हात पारेको हो ।

नेपालले दोस्रो हाफको ८३ मिनेटमा पहिलो गोल गरेको हो । नेपालका लागि सब्सीच्यूट खेलाडी सुनील बलको पासमा अन्जन विष्टले गोल गरेका हुन् । यो गोलसँगै विष्टले अन्तराष्ट्रिय फुटबलमा हरी खड्कासँग गोलसँख्या बराबरी बनाएका छन् ।

मैत्रीपूर्ण खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेको थिएन । पहिलो गोलसँगै रंगशालामा उपस्थित नेपाली दर्शक खुसी साटासाट गरेका थिए । नेपाल र पाकिस्तानबीच अहिले सम्म १७ खेल भइसकेका छन् । जसमा पाकिस्तानले ७ खेल, नेपालले ५ खेल जितेको छ भने ५ खेल बराबरीमा टुंगिएको छ । नेपाली टोली झण्डै डेढ महिनापछि मैत्रीपूर्ण खेलमा उत्रदैछ ।

यसअघि असोज ११ गते बंगलादेशविरुद्धको खेलमा नेपालले ३० को जित निकालेको थियो । जसमा अन्जन विष्टले ह्याट्रिक गरेका थिए । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले प्रतिबन्ध फुकाएपछि झन्डै साँढे तीन वर्षपछि मैदान फर्किएको पाकिस्तानले पनि केही आक्रमण बुनेपनि गोल भने गर्न सकेन ।

यसैबीच मिडफिल्डर आवास लामिछानले नेपाली राष्ट्रिय फुटबल टोलीमा डेब्यु गरेका छन् । घरेलु मैदानमा पाकिस्तानसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आवास दोस्रो हाफमा मैदान प्रवेश गर्दै डेब्यु गरेका हुन् । आवासले ५७औं मिनेटमा सेसेहाङ आङ्देम्वेको स्थानमा मैदान प्रवेश गरेका हुन् ।

कमेन्ट गर्नुहोस्