लमजुङ, १ मंसिर । चुनावी प्रचार अभियानको लागि समयावधि सकिनै लाग्दा लमजुङमा उमेदवारहरूले आफ्नो मतदाता भेटघाटलाई तिव्रता दिएका छन्। प्रमुख प्रतिस्पर्धामा देखिएका सत्ता गठबन्धन र एमालेका उमेदवारले बुधबार विहानैदेखि सुन्दरबजार नगरपालिकाका वडा नं ८ र ९ का मतदाता भेटघाटमा पनि प्रतिस्पर्धा गरिरहेका छन्।
यस क्षेत्रका तमु समाजहरूले आफ्नो समर्थन र साथ माओवादी महासचिव देव गुरूङ र गठबन्धनका उमेदवारलाई रहेको घोषणा गरेका छन्।
मतदाता भेटघाटमा व्यस्त गठबन्धनका उमेदवारहरू प्रतिनिधि सभा उमेदवार देव प्रसाद गुरूङ र प्रदेश ख का उमेवार भेष बहादुर पौडेल तथा माओवादी तर्फका प्रतिनिधि सभाका समानुपातिक उमेदवार उर्मिला माझी र प्रदेश सभाका लागि कांग्रेसबाट समानुपातिक उमेदवार टीका बस्यालसहितको मतदाता भेटघाटमा समता तमु समाज भोटेवडारमा आयोजित कार्यक्रममा समता तमु समाजमा आवद्व ६ सय भोट गठबन्धनको पक्षमा रहेको जानकारी दिइएको हो। समाजका अध्यक्ष पदम गुरूङले माओवादी महासचिव देव गुरूङले समाजको विकास र भौतिक पुर्वाधार निर्माणमा निरन्तर सहयोग गरिरहेकाले समाजले देव गुरूङ र गठबन्धनका उमेदवारलाई मत दिएर गुन तिर्ने बताएका हुन्। एमाले उमेदवार पृथ्वी सुब्बाले मुख्यमन्त्री हुँदा पनि वेवास्ता गरेको भन्दै उनलाई समाजसँग भेटघाटको लागि समय समेत नदिइएको समाजका एक सदस्यले बताए ।
सिर्जनशील तमु समाजको पनि साथ गठबन्धनलाई
त्यसैगरी सिर्जनशील तमु समाजले पनि आफ्नो समर्थन गठबन्धनका पक्षमा रहेको स्पष्ट पारेको छ । समाज का अध्यक्ष सन्तबहादुर गुरूङले आफ्नो नेतृत्वको समाजको समर्थन गठबन्धनका उमेदवारलाई रहने घोषणा गरेका छन् । उनले देव गुरूङले सांसद हुँदा समाजलाई बजेट दिएर सहयोग गरेको तथा कांग्रेस नेता तथा पुर्व सांसद चन्द्रबहादुर कुँवरले पनि बजेट दिएर भवन निर्माण गर्न सहयोग गरेकाले आफुहरूले गठबन्धनलाई नै साथ दिने बताए । यो समाजमा पनि एक सय साठी प्रतिष्ठित महानुभावहरू सदस्य रहेको गुरूङले बताए।
तामाङ गुम्बा झेगोछेन डिङ्मा ज्याधेन छोइलिङ गुम्बाले पनि दियो शुभकामना
यसैगरी पैरेमा रहेको तामाङ समुदायले पनि आफुहरूलाई निरन्तर साथ र सहयोग दिने माओवादी महासचिव देव गुरूङ र गठबन्धनका उमेदवारलाई विजयको शुभकामना दिएका छन् । उनीहरूले मत दिएर साथ दिने भएका छन् । गुम्वा परिसरमा आयोजित भेटघाट कार्यक्रममा समाजका सचिवले सो जानकारी गराएका हुन् ।