कांग्रेसको सर्कुलर भन्दै दुष्प्रचार, प्रचण्ड सचिवालयद्वारा भर्त्सना, साइबर ब्यूरोमा उजुरी

काठमाडौं । राजधानीबाट प्रकाशित हुने केही अनलाईन समाचारमा प्रकाशित भएको भन्दै विपक्षीहरुले सत्तारुढ गठबन्धनविरुद्ध दुष्प्रचार शुरु गरेका छन् ।

सेतोपाटी, अनलाईनखबर, नयाँ पत्रिकाको लोगो र मास्ट हेड राखेर स्क्रिन शट गरी प्रचार गरिएका यी समाचारमा कांग्रेसले माओवादीलाई भोट नदिन सर्कुलर जारी गरिएको उल्लेख छ ।

अचम्म त के छ भने यी समाचारहरु ती अनलाइनमा भने कतै भेटिदैनन । ती अनलाईनहरुले आफ्नो लोगो दुष्प्रचार भएको भन्दै आपत्ती जनाएका छन् ।

फोटोसपको माध्यमबाट नयाँ पत्रिका दैनिकलाई जोडेर सामाजिक सञ्जालमा फैलाइएका भ्रामक समाचारको कानुनी उपचार खोजिने नयाँ पत्रिकाले जनाएको छ । पत्रिकाले यस विषयमा नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी गरिएको जनाएको छ ।

निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्रका सदस्यसचिव कमल भट्टराईले सामाजिक सञ्जालहरुमा फोटोसप गरेर बनाइएका भ्रामक सामग्री देखेपछि फेसबुकको आधिकारिक कम्पनी मेटालाई त्यस्ता सामग्री हटाउन आग्रह गरिसकिएको जानकारी दिएका छन् । साथै, सदस्यसचिव भट्टराईले यससम्बन्धमा अनुसन्धान गरी सम्लग्न सबैलाई कानुनी कारबाहीको दायरामा ल्याउन नेपाल प्रहरीको साइबर ब्युरोलाई आयोगले निर्देशन दिने तयारी गरेको पनि बताए । नेपाली कांग्रेसले समेत त्यस्तो कुनै सर्कुलर जारी नगरिएको र भ्रम फैलाउनेहरुविरुद्ध कानुनी कार्वाहीमा जाने बताएको छ ।

निर्वाचनको मुखमा आएर विपक्षी एमाले निकटका केही व्यक्तिले यस्तो प्रचार गरेको आशंका माओवादी नेताहरुले गरेका छन् ।

यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालय यस्ता समाचार गठबन्धनविरुद्ध बदनियत राखी प्रकाशित भएको भन्दै भत्र्सना गरेको छ ।
सचिवालयबाट जारी सार्वजनिक सन्देशमा भनिएको छः

लोकतान्त्रिक मुल्य, मान्यता, बिधिको शासन र स्वतन्त्र निर्वाचन प्रणालीमाथि चुनौती दिदै, निर्वाचनको सम्भावित परिणामबाट अत्तालिएका,घोर षड्यन्त्रकारी, अलोकतान्त्रिक र अपराधी गिरोहद्वारा निर्वाचन आचारसंहिता समेत कुल्च्दै नेपालका केहि स्थापित अनलाइन न्युज पोर्टलहरुको नक्कली फोटोसप तयार गरि गठबन्धन सम्बद्ध दलहरूबीच आपसी अविश्वास र जनस्तरमा भ्रम सिर्जना गर्ने उद्देश्यले खडा गरिएको कुप्रचारको घोर निन्दा र भत्सर्ना गर्दै त्यसप्रकारको कुकृत्यलाई खारेज गर्दछौं ।
हामी गठबन्धनको उद्देश्यमा प्रतिबद्ध छौं । यो दुस्प्रचारमा संलग्न दोषी माथि तत्काल कार्बाही गर्न निर्वाचन आयोग र सरोकारवाला सबैमा हार्दिक आग्रह गर्दछौं ।
ज जसको न्युज पोर्टल दुरुपयोग गरिएको छ। ती संचार माध्यमका साथीहरूलाई यसको खण्डन गर्न र यसप्रकारको अपराधमा संलग्नलाई कठघरामा उभ्याउन समुचित पहलको लागी पनि अनुरोध गर्दछौं ।
-अध्यक्ष कमरेड प्रचण्डको सचिवालय!

कमेन्ट गर्नुहोस्