बैतडी । बैतडीमा प्रतिनिधि सभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ ।
सुरुआती चरणदेखि नै एमालेले अग्रगता लिएपनि पछिल्लो मत परिणाममा भने माओवादी केन्द्रका उम्मेदवार नरेन्द्रबहादुर कुँवरले एमालेका उम्मेदवार दामोदर भण्डारीलाई पछि पारेका हुन ।
४४ हजार ८ सय २० मत गणना हुँदा कुँवरले २० हजार एक सय २० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए । एमालेका भण्डारीले १८ हजार ४ सय ६९ मत प्राप्त गरेका छन् ।
यहाँको प्रदेश सभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका सुरेन्द्र पाल र प्रदेश सभा क्षेत्रनम्बर २ मा भने कांग्रेसका शिवराज भट्ट विजयी भइसक्नुभएको छ ।
प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि दुई क्षेत्र रहेको बैतडीमा आइतबार सम्पन्न निर्वाचनमा कुल मतदाताको ५२ दशमलव २२ प्रतिशत मत खसेको थियो ।
यहाँ एक लाख ५० हजार एक सय ५६ मतदाता रहेकामा ७८ हजार ४ सय १६ मत मात्रै खसेका थिए ।