सिन्धुपाल्चोक १ः एमालेका सरेशलाई हराउँदै माओवादीका माधव

काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा युवा नेता माधवप्रसाद सापकोटा विजयी भएका छन् ।

केहीबेर अघि सम्पन्न मत गणना अनुसार उनले निकटतम् प्रतिद्धन्दीका रुपमा नेकपा एमालेका नेता सरेश नेपाललाई हराउँदै प्रतिनिधि सभाको यात्रा पक्का गरेका हुन् । एमालेका सरेश नेपाललाई ३३५४ मतले पछि पार्दै विजयी भएका हुन। उनले ३०३७४ मत प्राप्त गरे ।

जनयुद्धकालीन राजनीतिबाट हुर्केका ४० वर्षीय उनी पहिलो पटक उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका थिए । सभामुख अग्निप्रसाद सापकोटाले युवा पुस्तालाई मौका प्रदान गरेपछि पार्टीले उनलाई उम्मेदवार बनाएको थियो । सिन्धुपाल्चोक १ मा प्रतिनिधि सभा तर्फ ६९ हजार ५ सय ८८ खसेको थियो । प्रदेश सभा १(१)मा ३३ हजार ८ सय ७१ र प्रदेश सभा १(२) ३५ हजार ७ सय १७ मत खसेको थियो । सिन्धुपाल्चोक क्षेत्र नं २ मा ७६ हजार ७ सय १६, प्रदेश सभा २(१) मा ३७ हजार ६ सय ३७ मत र प्रदेश सभा २(२) मा ३९ हजार ०७९ मत खसेको थियो ।

मत गणनाको सुरुवाती चरणमा अग्रता लिएका नेपाल चौतारा साँगाचोकगढी क्षेत्रको गणना सुरु भएपछि पछि परेका थिए । सो नगरपालिका विजेता सापकोटाको जन्मस्थान हो । सो क्षेत्रमा यसअघि सभामुख अग्निप्रसाद सापकोटाले जितेका थिए । सत्तरुढ दलको गठबन्धनमा माओवादीको भागमा परेको सिन्धुपाल्चोक १ मा सभामुख सापकोटाले छोडेर युवा नेतृत्वका रुपमा माधव सापकोटालाई अघि सारेका हुन् । नेपाली काँग्रेसका मोहनबहादुर बस्नेतले समेत दावी गरेपनि उनलाई गठबन्धनले क्षेत्र नम्बर २ मा पठाएको थियो ।

 

कमेन्ट गर्नुहोस्