काठमाडौं । नेकपा एसका पोलिटब्यूरो सदस्य तथा सहरी विकास मन्त्री मेटमणि चौधरीले शंकर पोख्रेलको हारलाई प्रतिगामीका मुख्य मतियारको हार भएको प्रतिक्रिया दिएका छन् ।
सामाजिक सञ्जालमा मेटमणिले लेखेका छन्– ‘दाङको २ नं जितियो । प्रतिगामी र पश्चागामीका मुख्य मतियारको हार भयो । नेपालको राजनीति जहिले नि प्रगतिशीलहरूले जित्ने संस्कृति छ । बधाई छ, निष्कलंक ब्यक्ति रेखा शर्मालाई ।’
मेटमणि चौधरी सत्ता गठबन्धनबाट दाङ–१ बाट उम्मेदवार छन् । उनले सुरुबाटै अग्रता लिएका छन् । उनलाई एमालेकी शान्ता चौधरीले पच्छ्याई रहेकी छिन् । मेटमणिले शंकर पोख्रेललाई दाङ–२ छाडी आफूसँग दाङ–१ मा चुनाव लड्न निम्ता दिँदै आफ्नो क्षेत्रमा चुनाव लड्न आए चुनाव खर्च आफूले सहयोग गर्ने बताएका थिए ।