मुलुक अस्थिरतातिर जाने खतरा बढ्यो : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब मुलुकमा मिलीजुली सरकार निर्माण गर्नुपर्ने अवस्था आएको बताएका छन्।

झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ओलीले झापाको दमकस्थित निर्वाचन आयोगमा प्रमाणपत्र ग्रहण गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन्।

पूर्वप्रधानमन्त्री ओलीले एमालेले मुलुकमा स्थिरता, स्थायित्व कायम गर्न खोजेको तर त्यसअनुसार निर्वाचनको परिणाम भने नआएको बताए। ‘हामीले भनेजस्तो परिणाम निर्वाचनमा आएन। त्यसैले मिलीजुली सरकार बनाउनेतर्फ राजनीतिक पार्टी लाग्नुपर्ने अवस्था सिर्जना भएको छ,’ उनले भने।

अबको एक–दुई वर्ष बहुमतको सरकार बनाउन गाह्रो हुने र बहुमतको सरकार बनिहाले पनि टिकाउन गाह्रो हुने ओलीले बताए।

‘यो निर्वाचन परिणामले मुलुक अस्थिरतातर्फ जाने खतरा बढेको छ,’ उनले भने। रासस

कमेन्ट गर्नुहोस्