इलाम २ मा रोकिएको मतगणना तत्काल सुरु गर्न प्रमुख निर्वाचन आयुक्तको निर्देशन

काठमाडौं । मतगणनाको अन्तिम समयमा विवाद उत्पन्न भएर रोकिएको इलाम क्षेत्र नम्बर २ को बाँकी मतगणना गर्न प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्देशन दिएका छन् । इलामका मुख्य निर्वाचन अधिकृत दिपककुमार दाहाललाई टेलिफोन मार्फत थपलियाले सो निर्देशन दिएका हुन् ।

मतगणनाको काम अन्तिम चरणमा पुगेका बेला शनिबार साँझदेखि एमाले र कांग्रेसबीच विवाद उत्पन्न भएपछि तनावको अवस्था सिर्जना भएको छ । मत गणना अन्तिम चरणमा पुगेपछि कांग्रेसका कार्यकर्ताहरूले मतदान अधिकृतको हस्ताक्षर नभएको ४० मतपत्र भेटिएको दावी गर्दै मतगणना बहिस्कार गर्दै नारा जुलुस थालेका थिए । यता एमालेका कार्यकर्ताहरूले आफ्ना उम्मेदवार सुवास नेम्वाङ ३७ मतले विजय भएको दावी गरेका छन् ।

कांग्रेसले मतगणनामा धाँधली भएको भन्दै मतगणना स्थलबाट बाहिर निस्केर नाराबाजी गरेपछि इलामका मुख्य निर्वाचन अधिकृत दाहालले प्रमुख निर्वाचन आयुक्त गुहारेका थिए । थपलियाले कानुन अनुसार बाँकी रहेको मतगणना सम्पन्न गर्न निर्देशन दिएको र केहीबेरपछि मतगणना हुने रातोपाटीलाई जानकारी दिए ।

कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काको टोलीले हार्ने संकेत पाएपछि अनावश्यक ढंगले बखेडा झिकेर मतगणनास्थलबाट बाहिरिएको उनको भनाई छ । उनीहरूले आरोप लगाएजस्तो हस्ताक्षर नभएको मतपत्र नरहेको र मतगणना सुरु गर्नुअघि बनाएको मापदण्ड अनुसार मतगणना गरेको उल्लेख गरे ।

अब एउटा मतदान केन्द्रको मतगणना हुन बाँकी रहेको उनको भनाई छ । मतगणना स्थगित भएपछि इलामस्थित सिटीहल बाहिर वरिपरिको स्थिति तनावपूर्ण बनेको छ । कांग्रेसका कार्यकर्ताहरूले नाराबाजी गरिरहेका छन् । सो निर्वाचन क्षेत्रमा एमाले उपाध्यक्ष सुवास नेम्वाङ र कांग्रेसका डम्बरबहादुर खड्काबीच प्रतिस्पर्धा भइरहेको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले २९ हजार १३५ मत प्राप्त गरेका छन् भने खड्काले २९ हजार ५ मत प्राप्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्