धनगढी । बाजुराबाहेक सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभा तर्फको सबै नतिजा आइसकेको छ । बाजुराबाट एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्य निर्वाचित हुनेछन् । पुनः मतदान गर्नुपरेकाले बाजुराको नतिजा आउन बाँकी छ ।
तर गणना सकिएका ठाउँमा नतिजा अनुसार, नेपाली कांग्रेस ठूलो दल बनेको छ । प्रतिनिधिसभा तर्फको १६ मध्ये कांग्रेसले ८ क्षेत्र जितेको छ भने प्रदेशसभाको ३२ मध्ये ११ सिट जितेको छ ।
प्रतिनिधिसभा तर्फ नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले बराबर तीन–तीन सिट जितेका छन् । प्रदेशसभातर्फको नतिजाले भने एकीकृत समाजवादी भन्दा नागरिक उन्मुक्ति ठूलो पार्टी बनेको छ । नागरिक उन्मुक्तिले ५ प्रदेशसभा सदस्य जितेको छ ।
एकीकृत समाजवादीले सत्ता गठबन्धनबाट प्रदेशसभातर्फ २ सिट मात्रै भाग पाएको थियो । त्यो दुवै सिट जितेको छ । डडेलधुराबाट एकीकृत समाजवादीका नेता डा. तारा जोशीले स्वतन्त्र जितेका छन् । भागबण्डामा नपरेपनि जोशीले जित्दा एकीकृत समाजवादीको तीन सिट भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा दुवैतिर नागरिक उन्मुक्ति भन्दा एमाले सानो दल बनेको छ । एमालेले प्रतिनिधिसभातर्फ २ र प्रदेशसभामा ३ सिट जितेको छ ।
एमालेले प्रतिनिधिसभामा बैतडी र कञ्चनपुर–१ बाट मात्रै जितेको छ । डडेलधुरामा प्रतिनिधिसभामा एमालेको उम्मेदवार नै थिएन । बाँकी एमालेका १२ उम्मेदवार यसपटक पराजित भए भने बाजुरामा कांग्रेसका बद्री पाण्डेसँग एमालेका कर्ण थापा प्रतिस्पर्धामा छन् ।
अघिल्लो चुनाव भन्दा यसपटक एमालेले ठीक उल्टो नतिजा निकालेको छ । ०७४ मा एमालेका एक जनामात्रै उम्मेदवार पराजित भएका थिए । कैलाली–१ मा रेशम चौधरीसँग एमालेकी गरिमा पन्त पराजित हुनुबाहेक बाँकी ११ जनाले चुनाव जितेका थिए । त्यसबेला वाम गठबन्धन हुँदा माओवादीले चार सिट पाएको थियो ।
डडेलधुरामा कांग्रेस सभापति शेरबहादुर देउवासँग माओवादी केन्द्रका खगराज भट्ट पराजित हुँदा कैलाली–३ बाट गौरीशंकर चौधरी, कैलाली–४ बाट लेखराज भट्ट र कञ्चनपुर–१ बाट बिना मगरले जितेकी थिइन् । ०७४ मा सुदूरपश्चिमबाट चुनाव जित्ने कांग्रेस उम्मेदवारमा देउवा मात्रै थिए ।
यसपटक भने टीकापुर घटनाको आरोपमा जेल सजाय खेपिरहेका रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले समेत एमालेलाई पछाडि पारेको छ । बर्दिया–२ सहित नागरिक उन्मुक्तिले कैलाली–१, २ र ३ जित्यो । एमालेबाट कैलाली–१ मा तपेन्द्र रावल, २ मा झपट रावल र ३ मा गौरीशंकर चौधरी पराजित भए ।