स्याङ्जा । नेकपा एमालेका कार्यकर्ताले स्याङ्जा जिल्लामा आफ्नै कार्यालय तोडफोड गरेका छन् । स्याङ्जा प्रतिनिधि सभा १ मा एमालेका तर्फबाट उम्मेदवार बनेका नारायण मरासीनी पराजित बनेपछि उनी पक्ष नेता कार्यकर्ताले पार्टी भित्रैबाट अन्र्तरघात भएको भन्दै आक्रोशित भएका हुन् ।
यसअघि माओवादी र एमालेबीच गठबन्धन हुँदा निर्वाचित बनेका मरासीनी कांग्रेस माओवादी गठबन्धन बनेपछि कांग्रेसका नेता राजु थापासँग पराजित बनेका हुन् ।
यद्यपी दुईवटा प्रदेशमा जितेको एमालेले संघमा पराजय भोगेको छ । दुईटै प्रदेश जित्दा अन्र्तरघात कै कारण संघमा चुनाव पराजित हुनुपरेको मरासीनी पक्षिय कार्यकर्ताको बुझाई छ ।
बौद्धिक नेताको छवि बनाएका मरासीनीलाई एमाले अध्यक्ष केपी ओलीले स्याङ्जामा आयोजित आमसभामा मन्त्री बनाउने बताएका थिए । निर्वाचनमा पराजित बनेसँगै पटकपटक सांसद बनेका मरासीनीको मन्त्री बन्ने सपनामा ठेस पुगेको छ ।
चुनाव परिचालनको निम्ति दिएको खर्च निर्वाचन क्षेत्रमा खर्च नगरेको, हराउन भुमिका खेलेको आरोपमा एमाले स्याङ्जा जिल्ला कार्यालय सचिव लक्ष्मपति सुवेदीलाई मरासीनी पक्षका युवाले कुटपिट गरेको स्थानीयले बताए ।
पुतलीबजार नगरपालिका अभियानपथमा बस्दै आएका सुवेदीको घरभित्रै पसेर शनिबार साँझ युवाहरुले सांघातिक आक्रमण गरेको प्रहरीले जनाएको छ।
आक्रमणका कारण ४९ वर्षीय सुवेदी घाइते भएका छन्।
उनको टाउको र शरीरका विभिन्न भागमा चोट छ। सुवेदीको टाउकोमा टाँका लगाइएको छ। जिल्ला अस्पताल स्याङ्जामा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा लगिएको पारिवारिक स्रोतले जनाएको छ। तर, अवस्था भने सामान्य रहेको बताइएको छ।
आफ्ना बुवालाई संरक्षण गर्न खोज्दा सुवेदीकी १८ वर्षीया छोरी बिनितामाथि पनि आक्रमण भएको छ। उनको टाउको, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको सु्वेदी पत्नी जानकीले बताइन्।
एमालेतर्फका उम्मेदवार मरासिनी कांग्रेसका उम्मेदवार राजु थापासँग पराजित भएपछि अन्तरघातको आशंकामा एमाले समर्थित युवाहरुले एमाले वडा इन्चार्जलाई कुटपिट गरेका हुन्। सुवेदी एमाले पार्टी कार्यालय नजिकै रहेको एक घरमा बसेर व्यवसाय गर्दै आएका छन्।
कुटपिटमा संलग्न रहेको भन्दै डोलबहादुर मल्ल, विष्णुबहादुर थापा र सुनिल गिरीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ। कुटपिटमा संलग्न युवाहरु फरार छन्। उनीहरुको खोजिकार्य भइरहेको स्याङ्जा प्रहरीले जनाएको छ।
सुवेदीलाई कुटपिट गर्नुपूर्व उनीहरुले एमाले पार्टी कार्यालय तोडफोड गरेको स्थानीयले जनाए। एमाले स्याङ्जामा नारायणप्रसाद मरासिनी र पद्मा अर्याल खेमाबीच अन्तरघातको आरोप प्रत्यारोप तीव्र देखिएको छ।
नेकपा एमालेका हालै सम्पन्न जिल्ला अधिवेशनदेखि मरासिनी र अर्यालबीच दुरी बढेको नेकपा एमालेका नेताहरु बताउँदै आएका छन्।