मधेसमा प्रतिनिधिसभातर्फ माओवादी निल,हँसिया हतौडा चिह्न जोगाउने राय एक्लो सांसद

जनकपुरधाम । गिरिराज हारेसँगै मधेसमा प्रतिनिधिसभातर्फ माओवादी निल भएको छ । कुनै बेला मधेसलाई आफ्नो आधार क्षेत्र बनाएको नेकपा माओवादी केन्द्र यस आम निर्वाचनमा प्रतिनिधि सभातर्फ त्यहाँ शून्य बनेको हो । माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पोखरेले महोत्तरी–१ बाट एमालेका उम्मेदवार लक्ष्मी महतोसँग पराजित भएपछि मधेस प्रदेशमा माओवादी केन्द्र शून्य भएको हो ।

मधेस प्रदेशबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)को निर्वाचन चिह्न जोगाउने महेन्द्र राय यादव एक्लो सांसद भएका छन् ।

माओवादी केन्द्रले मधेस प्रदेशका चार क्षेत्रमा उमेदवारी दिएकामा सबै क्षेत्रको परिणाम आउँदा उनी मात्र निर्वाचित भएका हुन् । सर्लाही निर्वाचन क्षेत्र नम्बर–२ बाट सत्ता गठबन्धनकै सहयात्री दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोलाई पराजित गर्दै राय निर्वाचित भए। रायले २३ हजार ५२९ मत पाउँदा महतोले २१ हजार ५१८ मत प्राप्त गरे ।

मधेस प्रदेशमा माओवादीले धनुषा–१, महोत्तरी–१, सिरहा–३ र सर्लाही–२ मा उमेदवारी दिएको थियो । धनुषा–१ मा पार्टीका उपमहासचिव मात्रिका यादव जनता समाजवादी पार्टी (जसपा)का दीपक कार्कीसँग पराजित भएका छन् । महोत्तरी–१ मा उपमहासचिव गिरिराजमणि पोखरेल नेकपा (एमाले)का नेता लक्ष्मी महतो कोइरीसँग र सिरहा–३ मा विश्वनाथ साह एमाले नेता लीलानाथ श्रेष्ठसँग पराजित भए ।

वि.सं. २०७४ मा राष्ट्रिय जनता पार्टीबाट सोही क्षेत्रबाट निर्वाचित राय अहिले पनि माओवादी होइनन् । उनी डा.बाबुराम भट्टराई आबद्ध नेपाल समाजवादी पार्टीका अध्यक्ष हुन् । पार्टी फरक भए पनि उनी यसपटक गठबन्धनका कारण माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हतौडा लिएर चुनावमा होमिएका थिए ।

माओवादी केन्द्रले प्रदेश सभातर्फ भने चारवटा सीट जितेको छ । पर्सा १ (क) मा माओवादी केन्द्रका रोहवर अन्सारी, सर्लाही ४ (ख)मा फकिरा महतो, महोत्तरी १ (ख) बाट भरतप्रसाद साह र रौतहट ४ (क) मा युवराज भट्टराई प्रदेशसभा सदस्यमा विजय भएका छन् ।

मधेसमा माओवादी कमजोर हुनुमा चरण गुटबन्दी रहेको सो पार्टीका युवा नेता भोला यादव (सिरहा) ले बताए । उनले भने, ‘मधेसमा जति जना माओवादी नेता छन् त्यतिवटा गुट छन् । नेता पिच्छे गुट भएको कारण पार्टीका मतदाताहरू अलमलमा परे र आफ्नो अनुकूल मतको सदुपयोग गरे ।’

एउटा गुटका नेताले अर्को गुटका नेतालाई हराउने चलन तराई मधेसमा खुबै देखिएको छ । मधेसमा मातृका यादव र नाराकाजी श्रेष्ठसमूहबीच गुटबन्दी छ । त्यसबाहेक नेता नेताको बीचमा पनि गुटबन्दी छ । एकले अर्कालाई हराउन गरेको गतिविधिहरू प्रस्ट देखिन्छ तर पार्टीले केही गर्न नसकेको गुनासो उनको छ ।

कमेन्ट गर्नुहोस्